चीनमा सात लाखभन्दा बढी सामाजिक संस्था सक्रिय

बेइजिङ, १९ साउन । चीनमा सन् २०१६ को अन्त्यसम्ममा झण्डै सात लाख दुई हजार सामाजिक सङ्घसस्था रहेको तथ्यांक सार्वजनिक भएको छ ।

चीनको नागरिक मामिला हेर्ने मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार तीन लाख ३६ हजार सामाजिक समूह र सङ्घ तथा समिति रहेका छन् ।

त्यसैगरी पाँच हजार पाँच सय ५९ प्रतिष्ठान र तीन लाख ६१ हजार वटा गैर व्यापारिक निजी संस्था रहेको मन्त्रालयले जनाएको छ ।

गत वर्षको अन्त्यसम्ममा सामाजिक सङ्घसंस्थाबाट ७० लाख ६३ हजार जनाले रोजगारी पाएका थिए । यस वर्ष त्यसमा ३.९ प्रतिशत वृद्धि भएको छ ।

सन् २०१६ भरीमा सामाजिक सङ्घसंस्थासम्बन्धी दुई हजार तीन सय ६३ वटा घटनामा अधिकारीहरूले अनुसन्धान गरेका छन् । अनुसन्धानका क्रममा गलत ठहरिएका १६ घटनामा कारबाही गरिएको छ ।

चीनमा गैर व्यापारिक निजी संस्थाको रूपमा विशेषगरी विद्यालयहरू, अस्पतालहरू, वृद्धवृद्धालाई हेरविचार गर्ने ठाँउ र संग्रहालयहरूलाई बुझिन्छ ।

Loading...