वायुसेवा निगममा चरम बेथिती, उच्च अधिकारीहरु नै रातोदिन जहाज कसरी थन्काउने भन्ने बुन्छन योजना

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफू निगममा नियुक्तभएदेखि निकै जोडतोडका साथ निगमका लागि जहाज किन्न दौडधुप गरे । निगममा जहाज नै नभएको र जहाज उडाएर कमाउने कम्पनीले जहाज नै नभएपछि कसरी कमाउँछ भन्ने प्रश्न गर्दै उनले अनेक लविङ गरे । त्यो उनको लविङ निगमका लागि जहाज किन्नैका लागि थियो वा जहाज किन्दा पाइने कमिसनका लागि थियो त्यो फरक विश्लेषणको पाटो हो तर उनको त्यो लविङ निकै रहरलाग्दो थियो । तर, विडम्वना जहाज किनिसकेपछि अहिले प्रायः सबै जहाज थन्काइएको छ । हिजो जहाज नभएर उडाउन नपाएको र नउडाउँदा निगम घाटामा गएको भनेर तर्क गर्ने तिनै कंसाकारसहितको टिम आज भएका जहाज जवरजस्त थान्को लगाइरहेको छ । निगमको आन्तरिक उडान धराशयी बनाउन निगमकै माथिल्लो तहबाट षडयन्त्र भइरहेको कर्मचारीहरु बताउँछन् ।

अहिले निगमसँग डोमेस्टिकतर्फका नौ जहाजमध्ये सातवटा जहाज थन्काइएका छन्। निगमसँग २ वटा एमए ६०, ४ वटा वाई–१२ र ३ वटा ट्वीनअटर जहाज छन । तिनले आन्तरिक उडान गर्नुपर्ने हो । तर, अरु थान्को लगाएर निगमको नेतृत्वले २ वटा मात्रै उडिरहेका छन्। यसरी जहाज थन्काउदा निगमलाई करोडौको घाटा थपिदै गएको छ । त्यसतर्फ उनीहरु कुनै ध्यान दिइरहेका छैनन । निगमका उपल्लो तहका अधिकारीहरु दिनरात कसरी आन्तरिकतर्फका जहाज थन्को लगाउने भन्ने योजना नै बुन्ने गरेको कर्मचारीहरु बताउँछन् ।

उनीहरुले आन्तरिकतर्फका पाइलटहरुलाई नै सरुवा गरेका छन् । डोमेस्टिकतर्फका पाइलट मध्ये केहीलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ । केहीलाई आवश्यक तालिम गर्न नदिएर जहाज उडाउन रोकिएको छ । तालिम गर्न नदिएर उनीहरुलाई नियतवस उडानका लागि अयोग्य बनाइने गरिएको छ ।

तर, अर्कोतिर निगम व्यवस्थापन पाइलट नै नभएका कारण उडान रोकिएको बनावटी तर्क गर्न थालेको छ । एकप्रकारको कृत्रिम खडेरी पैदा गरेर कमिसन पडकाउने खेलमा निगम व्यवस्थापनको जिम्मेवारी लिएकाहरु दिनरात लागेको देखिन्छ ।

निगम व्यवस्थापनले भएका पाइलटलाई आवश्यक तालिम र प्राविधिक परीक्षणबाट योजनाबद्ध रुपमा वञ्चित गरेको छ । जसका कारण अधिकांश पाइलट उडानका लागि अयोग्य भएका छन्। तर, जहाज नउडाए पनि जागिर भने खाइरहेका छन् ।

यतिसम्म भएको छ कि एकातिर डोमेस्टिकतर्फ पाइलट छैनन भनिएको छ भने अर्कोतिर इन्टरनेशनलतर्फ ओभर स्टाफिङको समस्या भएको छ । डोमेस्टिकका स्टाफ र पाइलटलाई सरुवा गरेर इन्टरनेशनलतर्फ पठाउने अनि त्यता ओभरस्टाफिङको समस्या आइरहने भएको छ । यस्तो हुँदा पनि निगम व्यवस्थापनले यसतर्फ कुनै मतलव राख्ने गरेको छैन । एकप्रकारको चरम भद्रगोल निगममा अहिले सिर्जना भएको छ ।

आन्तरिक उडानका सातवटा जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा भइरहेको छ। एउटा जहाजबाट दैनिक औसत तीन लाख घाटा हुने गरेको निगमले जनाएको छ। जहाज सञ्चालन हुँदा यात्रु बोकेबापत प्राप्त हुने रकमलाई नोक्सानीमा राखिन्छ। त्यस्तै, जहाज ग्राउन्डेड भए पनि बिमा, ग्राउन्ड पार्किङ शुल्क, क्रु मेम्बरलाई दिने तलब भत्ता लगायत खर्च नियमित भइरहन्छ। यो रकम पनि निगमको घाटामै जोडिन्छ।

जहाज ग्राउन्डेड हुँदा आव ०७४/७५ मा मात्रै निगमलाई एक अर्ब २१ करोड घाटा भएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

जहाज नउडेपछि चिनियाँ जहाजले निगमलाई ६० करोड ६१ लाख रुपैयाँ घाटा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै दुईवटा ‘एमए सिस्क्टी’ जहाजले एक वर्षमा ३१ करोड ६४ लाख र चारवटा ‘वाई–१२’ जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍याएको छ।

निगमसँग रहेका दुईवटा ट्विनअटर जहाजमध्ये एउटा मात्र सञ्चालनमा छ भने अर्को मर्मतमा छ।

कंसाकार कुनै समय निगममा चरम भ्रष्टाचार गरेकाे भन्दै पक्राउ परेका थिए । केही समय जेल बसेर उनी छुटेका हुन् । तर, उनी फेरि राजनीतिक सेटिङ मिलाएर फेरि त्यही ठाउँमा नियुक्त भए । कंसाकार पुन: निगममा नियुक्त भएदेखि नै धेरैले अाश्चर्य मानेका थिए । उनले निगमका लागि वाइड जहाज र चिनियाँ जहाज खरिद गर्न निकै जाेड गरेका थिए । उनले जहाज किन्दा निगमसँग जहाज नै नभएपछि कसरी माथि उठाउने भन्ने व्याख्या निकै राेचक तरिकाले गर्ने गर्थे । अहिले किनिसकेपछि थन्काउन मेहनत गरिरहेकाे देखिन्छ । वाइडवडी जहाज खरिद गर्न सबैभन्दा बढी सेटिङ उनैले मिलाएकाे स्राेतकाे दावी छ । उनले अन्तराष्ट्रिय एजेन्टहरुकाे सेटिङ मिलाएर अनि देशमा राताेदिन नेताहरुका ढाेकाढाेका धाएर जहाज किनाएरै छाडे । जुन वाइडवडी जहाजमा ४ अर्ब घाेटाला भएकाे भन्दै छानविन भइरहेकाे छ । तर कंसाकारले छानविनलाइ निस्कृय पार्ने राेचक खेल पनि खेल्न भ्याइसकेकाे स्राेतकाे दावी छ । स्राेतका अनुसार कथंकदाचित छानविन अघि बढिहालेमा अाफ्नाे संरक्षणमा नेवार समुदायलाइ उतार्ने अर्काे याेजनामा पनि लागेका छन् । उनले एकपटक विशेष भाेजकाे अायाेजना गरेरै नेवार समुदायका सबै विशिष्ट व्यक्तिहरु बाेलाएर नेवार भएकै कारणले अाफूमाथि वाइडवडी र निगमका विषयमा अाराेप लगाइएकाे व्याख्या सुनाएका थिए । उनी चाैतर्फी यस्ता सेटिङ मिलाउनमै दिनरात खर्च गरिरहेकाे निगमकै कर्मचारीहरुकाे दावी छ । 

Loading...