भेनेजुयलामा विवादका वाबजुत संविधानसभाको निर्वाचन सम्पन्न

कराकस । भेनेजुयलामा देखिएको राजनीतिक संकट समाधान गर्न घोषणा गरिएको नयाँ कानून लेख्न शक्तिशाली निकाय संविधानसभाको निर्वाचन आइतबार भएको छ ।

भेनेजुयलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी)ले वर्तमान राष्ट्रपति निकोलास माडुरोले भेनेजुयलामा राजनीतिक संकट चरम बन्दासमेत समाधान गर्न नसकेको तथा राजनीतिक अन्यौलका कारण आर्थिक संकटसमेत चुलिएको भन्दै विगत चार महिना यता आन्दोलन जारी राखेका छन् । आन्दोलनका क्रममा ११० नागरिकको ज्यान गुमेको बताइएको छ ।

माडुरोले राजनीतिक संकटलाई निकास नदिएको र प्रतिपक्षी दलको भावनाविपरित अघि बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट समेत निर्वाचनको आलोचना भएको छ । माडुरोले संविधानसभाको निर्वाचन गराएरै छाड्ने अठोट लिएको भनी निर्वाचन प्रक्रियाप्रति आलोचना व्यक्त गरिको हो ।

भेनेजुयलामा प्रतिपक्षी समूहले निर्वाचन विथोल्न पछिल्लो ४८ घण्टा आन्दोलनलाई थप सशक्त बनाएको छ । उक्त समूहले माडुरो संसदमा अल्पमतमा परेकाले संसदीय विरोधलाई छल्न संविधानको ‘प्रपञ्च’ रचेको भनेको छ ।

माडुरोविरोधी अभियानकै क्रममा शुक्रबार पनि भेनेजुयलाको राजधानी काराकस तथा अन्य दुई शहरमा तीन प्रदर्शनकारीको मृत्य भएको थियो ।

निर्वाचन विपक्षीले बहिष्कार गरेको छ । ५४५ सदस्यीय संविधानसभाका लागि छ हजारभन्दा बढी उम्मेदवार भए पनि एकजना पनि उम्मेदवारले विपक्षी दलको तर्फबाट भाग नलिएको बताइएको छ ।

Loading...