टिकटकमाथि भारतमा प्रतिबन्ध, गुगलले प्ले स्टोरबाट हटायो एप

एजेन्सी । जोक, फिल्म र संगीत सम्बन्धित साना भिडियो क्लिप्सका कारण निकै चर्चामा आएको टिक टक एकमाथि भारतमा प्रतिबन्ध लागेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम निर्माता गुगलले टिकटकलाई आफ्नो सिस्टमबाट भारतमा ब्लक गरेको छ ।

मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको हो । मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकले बालबालिकामा पोर्न सामग्री पुर्याएको, यौनजन्य अपराध फैलाउन सक्ने भन्दै प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो। टिकटकले युवाको भविष्य तथा बच्चाको दिमाग बिगारिरहेको न्यायाधीशहरूको व्याख्या थियो।

भारतमा म‌ंगलबार नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको हो। ‘टिक–टक’मा विशेष इफेक्टका साथ भिडियो बनाएर र शेयर गर्न मिल्ने ‘टिक–टक’ले बालबालिकामाथि असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो। भारतीय सर्वोच्च अदालतले भने यो विषयमा पछि निर्णय गर्ने जनाएको थियो।

गुगलको यो निर्णयप्रति चिनियाँ एप डेभलपर कम्पनीले कुनै प्रतिक्रिया जनाएको छैन। एप विश्लेषक कम्पनी सेन्सर टावरकाअनुसार भारतमा टिकटक २४० मिलियन पटक डाउनलोड भएको छ। यसका ३० मिलियनभन्दा बढी प्रयोगकर्ता भारतमा छन्।

टिकटक सन् २०१८ को सबैभन्दा लोकप्रिय एप हो। गत अक्टोबरमा अमेरिकामा सबैभन्दा बढी डाउनलोड भएको टिकटक भारत र नेपालमा समेत लोकप्रिय बनेको छ।

 

Loading...