प्रधानमन्त्रीलाई रतन्धो लाग्यो, अब सबै क्रान्तिकारीहरु एक हुनुपर्छः मोहन बैद्य

काठमाडौं, २६ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले देशमा फासिवादी हैकम लागु भएको बताएका छन् । रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीको अनामनगरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव किरणले सो कुरा बताएका हुन् । सरकारले फासिवादको अभ्यासतिर अघि बढिरहेको भन्दै नेता किरणले त्यसको दृढतापूर्वक विरोध गर्ने घोषणा गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनताले खान पाइन, लाउन पाइन भनेर आन्दोलन गर्ने दिन सकिए, संविधान बन्यो अब सकियो भन्दै बोलिरहेको प्रसंग उल्लेख गर्दै नेता बैद्यले यो त राणाकालजस्तै भएको बताए । राणा शासनमा तत्कालीन शासकहरुले दरवारमा बसेर जनताले दुधभात त खाएका होलान नि भनेर भन्ने गरेको प्रसंग निकाल्दै तिनै राणाहरु जस्तै वर्तमान सरकारले देशको खास अवस्था र जनताको स्थितिप्रति कुनै ध्यान नदिएको बताए । उनले भने, “ओली जीलाई दिउसै रतन्धो भएको छ । उहाँ अन्धो हुनुभएको छ । पुरातन विचार भएकाहरु अन्धा हुन्छन ।”

महासचिव बैद्यले पुरातन सत्ताका विरुद्ध जनताको आन्दोलन जारी रहेको उल्लेख गर्दै पुराना सत्ताहरु कहिल्यै नटिक्ने बताए । त्यसका लागि क्रान्तिकारी पंक्ति एकगठ गोलबन्द भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालमा पहिलो पटक एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाइएको भन्दै उनले त्यसप्रति आश्चर्य प्रकट गरे । यसले आखिर को कम्युनिस्ट हो भन्ने प्रश्न उठेको भन्दै उनले यो सरकार कम्युनिस्टको सरकार नै नभएको र सरकार पुँजीवादी सामन्त र नोकरशाहहरुको प्रतिनिधि भएको दावी गरे ।

उनले भने, “सत्ता र सरकारमा गएका मान्छेहरु जसले आफूलाई कम्युनिस्ट भन्छन, उहाँहरुले पुरानै वर्ग र सत्ताको प्रतिनिधित्व गर्नुभएको छ । हामी त १० वर्षको जनयुद्धमा थियौ त्यतिबेला सरकारमा भएका मान्छेहरुले जे गरेका थिए, अहिले सरकाले त्यही गरेको छ । जनयुद्धको साथीहरु प्रचण्डजी, बादलजीहरुल्े अर्को साथी विप्लवलाई त्यही गर्नुभएको छ । यसको हिसाब किताब इतिहासले राम्रोसँग गर्छ । केपी ओलीले ऐतिहासिक झापा विद्रोह र १४ वर्ष जेल बसेको कुरा बिर्सेका छन् । प्रचण्डले १० वर्षे जनयुद्ध बिर्सिनु भयो । यो त हिड्दैछ पाइला मेटदैछ भनेको जस्तो भयो । उनीहरुले कित्ता फेरेका छन् । खासमा उनीहरु कम्युनिस्ट नै होइन ।”

सरकार अहिले मिडियाबाट तर्सेको भन्दै त्यही भएर मिडिया र जनताका प्रचारप्रसारका साधनलाई सरकारले नरुचाएको र बताए ।

उनले विप्लवले उठाएका कुराहरु राजनीतिक महत्वका रहेको र यो समस्यालाई राजनीतिक रुपमा नै सम्बोधन हुनुपर्नेमा जोड दिए ।

रेडियो मिर्मिरेले आफ्नो १२ औ वार्षिक उत्सवका अवसरमा वर्तमान राजनीतिक परिस्थितिः प्रेस, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पूर्व सभामुख तथा नागरिक समाजका अगुवा पदमरत्न तुलाधर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निर्माण अभियानका संयोजक आहुती, नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, चर्चित पत्रकार ऋषि धमला लगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए । 

रेडियो मिर्मिरेले आफ्नो वार्षिक उत्सवका अवसरमा रेडियोमा विशेष योगदान पुर्याउने १० जनालाई सम्मान पनि गरेको थियो । सम्मानित हुनेहरुमा रेडियोमा लामो समयदेखि प्राविधिक प्रमुख रहेका राजकपुर महर्जन, बालकृष्ण भट्ट, मदन कार्की, रेडियोमा सुरुवातदेखि नै कार्यक्रम शाखामा काम गरी त्यसको नेतृत्वसमेत गरेका राजु बोहोरा, नेवारी भाषा कार्यक्रमका प्रस्तोता बुद्धशरण शाही, तामाङ भाषाका बिष्णु दोङ, समाचार शाखामा लामो समय काम गरेकी मिक्साङ वाइवा, सकृति शाही, कार्यक्रम शाखामा काम गरेका कमल सरगम रहेका छन् ।

Loading...