लगानी सम्मेलनप्रति नेपाली लगानीकर्ताको नै अविश्वास

काठमाडौं, १७ चैत । सरकारले निकै ठूलो महत्व दिएर गरेको लगानी सम्मेलनप्रति घरेलु लगानी कर्ता भने विश्वस्त हुन नसकेको देखिएको छ । ४० देशका ६ सय बढी लगानीकर्तालाई सहभागी गराएर भव्य सम्मेलन गरेको सरकारले दावी गरे पनि स्वदेशी लगानीकर्ता भने अझै सरकारको कामप्रति अविश्वास जनाइरहेका छन् ।

अर्थतन्त्रको महत्वपूर्ण सूचकका रुपमा हेरिने नेप्से परिसूचकबाट पनि यो पुष्टि हुन्छ । नेप्सेमा पछिल्लो समय निरन्तर गिरावट आइरहेको छ । लगानी सम्मेलनको चर्चा र सरकारले गरेका पछिल्ला घोषणाले नेप्से परिसूचकमा सुधार आउने आशा गरिएको भए पनि लगातार ओरालो लाग्ने क्रम जारी छ ।

लगानी सम्मेलन पछि कारोबार भएको पहिलो दिन नेप्से बढ्ने आम अपेक्षा थियो । त्यस विपरित नेप्सेमा आइतबार शुन्य दशमलव ९१ अंकले अझै गिरावट आएको छ । लगानी सम्मेलनपछि नेप्सेमा आएको यो गिरावटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स, फ्लोटिङ इन्डेक्स र सेन्सेटिभ फ्लोटिङ इन्डेक्स पनि ओरालो लागेको छ । आइतबार कारोबार भएका १० वटा समूह मध्ये बैंकिङ, उत्पादनमूलक र अन्य समूह वाहेकका सबै परिसूचकहरु नकारात्मक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

शेयर बजार सुधारका लागि सरकारले ल्याएका विभिन्न योजनाका बाबजुत बजार सकारात्मक हुन सकेको छैन । लगानी सम्मेलनपश्चात बजारले गति लिने आशामा लगानीकर्ता रहेका थिए । तर, सरकारको प्रक्षेपणअनुसार लगानी नआउनु, बैंकहरुले ब्याजदर घटाउन आनाकानी गर्नु, देश पुनः द्वन्द्वमा जानसक्ने भय व्याप्त रहनु आदि कारणले बजार सकारात्मक हुन नसकेको र लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको शेयर बजारका विश्लेषकहरु बताउँछन् ।

Loading...