स्थापना दिवसका अवसरमा पूर्वपदाधिकारीलाई सम्मान गर्दै पत्रकार महासंघ

काठमाडौँ, १२ चैत । नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापनाको ६४औँ वर्ष प्रवेशका अवसरमा २० पूर्वपदाधिकारीलाई सम्मान गर्ने भएको छ ।

महासङ्घ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही विशिष्ट योगदान पु¥याउने पूर्वपदाधिकारीलाई सम्मान गर्न थालिएको महासचिव रमेश बिष्टले जानकारी दिए । पूर्वउपसभापतिहरु राधा बुढाथोकी, चित्राङ्ग थापा, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, तेजबहादुर भण्डारी, यज्ञ शर्मा, गोपाल बुढाथोकी, कृष्णप्रसाद बस्याल राकेश, डीआर पन्त, उमिद बागचन्द, गङ्गाधर पराजुली र सञ्जय सन्तोषी राईलाई सम्मान गर्न लागिएको महासंघले जनाएको छ ।

त्यसैगरी महासंघले पुर्वउपाध्यक्षहरु यशोदा तिम्सिना, खिलबहादुर भण्डारी र अनिता बिन्दु र पूर्वमहासचिवहरु चन्द्र भण्डारी, पोषण केसी, ओम शर्मा र उजिर मगरलाई पनि सम्मान गर्न लागेको छ । महासंघको स्थापना दिवस चैत १६ गते एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिने महासङ्घका महासचिव बिष्टले जानकारी दिएका छन् ।

स्थापना दिवसलाई महासङ्घले विविध कार्यक्रमसहित यही चैत १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने निर्णय गरेको छ । महासङ्घले स्थापना दिवसका अवसरमा चैत १३ र १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा १५ गते जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरेको छ ।

Loading...