म्याग्दीमा मात्र चार करोड अनुदान वितरण

म्याग्दी, १५ साउन । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ ।

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो ।

आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई ५० हजारका दरले चार करोड २२ लाख ५० हजार वितरण गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिए ।

आठसय ६८ घर पूर्ण क्षति भएको तथ्यांक भए पनि वडा कार्यालयमा निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेर सिफारिस भई आएकाको मात्र बैंक खातामा रकम जम्मा गरिएको सूचना अधिकृत भण्डारीले बताए ।

उनका अनुसार पहिलो चरणमा भूकम्पपीडितको सूचीमा नाम छुटेकाको वडा कार्यालयमार्फत गुनासो संकलन गरी प्रमाणित गर्न दोस्रो चरणमा स्थलगत सर्वेक्षणका लागि प्राविधिक टोली खटाइने भएको छ ।

गत वैशाख १२ गतेअघि नै कम प्रभावित जिल्लाका भूकम्पपीडितको खातामा पनि पहिलो किस्ताबापतको रकम जम्मा गर्ने राष्ट्रिय पुनःनिर्माण कोषको लक्ष्य रहे पनि अनुदान सम्झौता समयमै नहुनु र स्थानीय तहको चुनावका कारण ढिलाइ भएको हो ।

लाभग्राहीसँग गरिएको सम्झौताका आधारमा जिल्ला समन्वय समितिको सिफारिसमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पीडितको बैंक खातामा चार चरणमा तीन लाख जम्मा गर्ने व्यवस्था छ । दोस्रो, तेस्रो र चौथो किस्ता पाउन लाभग्राहीले सरकारले तोकेको मापदण्डअनुसारको भवन निर्माण र प्रक्रिया पु¥याउनुपर्ने छ ।

जग हालेपछि दोस्रो किस्तामा एक लाख ५० हजार, छाना छाउनुअघि तेस्रो किस्ताबापत ७५ हजार र शौचालय तथा वैकल्पिक ऊर्जाको व्यवस्थाका लागि २५ हजार अन्तिम किस्ता उपलब्ध गराइने व्यवस्था छ । आवास पुनःनिर्माण गरिसकेका भूकम्पपीडितले अनुदान पाउन भवन तोकिएको मापदण्डअनुसारको भएको प्राविधिकबाट प्रमाणित र सिफारिस गराउनुपर्नेछ ।

अनुदान रकम पाएपछि चर्किएको, भत्किएको घर मर्मत गरेर बस्दै आएका भूकम्पपीडितले निजी आवास पुनःनिर्माणको तयारी गरेका छन् । अनुदान वितरण प्रक्रियामा ढिलाइ भएपछि कतिपयले आफ्नै तरिकाले घर पुनःनिर्माण गरिसकेका छन् ।

Loading...