तीन श्रष्ठालाई ‘नेवा अधिकार सिरपाः’ प्रदान

काठमाडौँ, ९ चैत । नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट सम्मान गरिएको छ । नेवा अधिकार सिरपा गुठीले उनीहरुलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान गरेको छ ।

नेपाल भाषाका प्रसिद्ध समालोचक डा श्रेष्ठ ‘समालोचनाया सिद्धान्त’ पुस्तकका लेखक हुन । अस्वस्थताका बाबजुद पनि उनी अस्पतालबाट पुरस्कार ग्रहण गर्न खुसिबुँ आए । विगत नौ महीनादेखि अस्पतालमा थला पर्नुभएका श्रेष्ठ नेपाल भाषालगायत जनजातिको अधिकार तथा समानताका लागि विसं २०२२ देखि निरन्तर सङ्घर्ष गर्दै आएका छन् ।

नेपालका वामपन्थी राजनीतिक दलका गुरुका रुपमा सम्मान प्राप्त गरेका श्रेष्ठले विसं २०२२ मा कम्युनिष्ट पार्टीले नेपाल भाषालाई पनि आन्दोलनका रुपमा लान अस्वीकार गरेपछि कम्युनिष्ट पार्टी त्याग गरी स्वतन्त्र हैसियतमा कलम चलाउँदै आएका थिए ।

‘इमु छम्ह लँय् दु । मरि कुचा बँय् दु ।’ जस्ता बाल कवितादेखि ‘लुँ हिटी व हिटी, लुँ हिटी नं हिटी हे मखुला’ नेपाल भाषा तथा नेपाली भाषाका मार्मिक कविता सङ्ग्रहका लेखक दुर्गालाल श्रेष्ठ नेपाल भाषा साहित्य क्षेत्रका एक बलियो खम्बा मानिन्छ ।

त्यस्तै नेपाल भाषाको भाषिक अधिकारका लागि विसं २०२२ देखि सङ्घर्ष गर्दै आउनुभएका वरिष्ठ पत्रकार मल्ल के सुन्दर नेपाल भाषाका प्रसिद्ध पत्रिका ‘इनाप’ का सम्पादक, राससका पूर्वमहाप्रबन्धक, मानव अधिकारवादी नेता, आदिवासी जनजाति आन्दोलनका अगुवा तथा नेवाः दे दबुका संस्थापक अध्यक्ष हुन । ती सबै पुरस्कारको राशि क्रमशः रु ५० हाजर÷रु ५० हजारको छ । ती पुरस्कार प्रदान गर्दै वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको संविधानमा नेपाल भाषालगायतका सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा लेखिएको भए पनि व्यवहारमा लागू नभएको बताउँदै नेपाल भाषालाई थप उन्नतशील बनाउन सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले मदन पुरस्कार स्थापना हुनु अगाडि नै नेपाल भाषामा स्वयम्भूलाल श्रेष्ठले प्रसिद्ध ‘श्रेष्ठ सिरपाः’ स्थापना गरेको चर्चा गर्दै यो पुरस्कारको स्थापनाबाट नेपाल भाषाका केदारमान व्यथित, धुस्वाँ सायमीजस्ता प्रसिद्ध साहित्यकारलाई जन्माएको बताए ।

वरिष्ठ पत्रकार मल्ल के सुन्दरले नेपाल भाषाका महाकवि चित्तधर हृदय, सिद्धीदास अमात्यजस्ता अग्रज साहित्यकारको सपना पूरा नभएको बताउँदै विभिन्न आन्दोलनपछि नेपालमा गणतन्त्र स्थापना भए पनि जनतामा अझै अधिकार प्राप्त नभएको बताए ।

वरिष्ठ समालोचक माणिकलाल श्रेष्ठले नेपालमा जति भाषा, संस्कृति तथा जाति छन् ती सबैलाई समानता दिनुपर्नेमा जोड दिँदै एउटा जातिले अर्को जातिलाई शोषण तथा दमन गर्ने पद्धतिको विकासबाट शिशु प्रजातन्त्रको रक्षा हुन नसक्ने बताए ।

जनकवि एवं नेपाल भाषा काव्य विधाका अग्रज दुर्गालाल श्रेष्ठले अस्पतालको शय्यामा रहनुभएका प्राडा माणिकलाल श्रेष्ठ कार्यक्रममा उपस्थित भएकोमा खुशी व्यक्त गर्दै उनीबाट नेपाली जनताले प्रेरणा लिनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल भाषा तथा संस्कृतिको संरक्षण गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिँदै महानगरपालिकाले पनि नेपाल भाषाको विकासका लागि महत्वपूर्ण कार्य गर्दै आएको बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालमा गणतन्त्र स्थापना भए पनि जातीय उन्मुक्तिका लागि सङ्घर्ष गर्ने काम बाँकी नै रहेको बताए । उनले समानताको विकास गर्नका लागि जनचेताना अभिवृद्धि गर्नुपर्ने उल्लेख गरे ।

नेवाः अधिकार सिरपा गुठीका सदस्य प्रेमशान्ति तुलाधर तथा नरेन्द्रभक्त हाडाले नेपाल भाषाका तीन जना हस्तीलाई गुठीले सम्मान गरेको बताए । कार्यक्रमका सभापति गुठीका अध्यक्ष डा महेशमान श्रेष्ठले काठमाडौँमा बाहिरबाट मानिस ओइरिनेक्रम बढ्दै गएकाले नेवार समुदायको मातृभूमिका रुपमा रहेको काठमाडौँमा नेवार संस्कृति कलाको संरक्षण गर्ने चुनौती बन्दै गएको बताए ।

Loading...