पत्रकार नेपालको ‘नागबेली’ सार्वजनिक

काठमाडौँ, १४ साउन । पत्रकार चक्रपाणि नेपालले लेख्नुभएको ‘नागबेली’ नामक पुस्तक बजारमा आएको छ । राजधानीमा एक कार्यक्रामको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको हो । वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

सो अवसरमा उनले उक्त पुस्तकबाट युवाहरू लाभान्वित हुने बताउँदै विदेशी सञ्चार तथा टेलिभिजनको आगमनबाट युवाहरूमा पुस्तक पढ्ने बानी हट्दै गएकोमा यस्ता पुस्तकबाट पुस्तक पढ्ने बानीमा विकास हुने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले देशको विकासका लागि युवाहरूलाई सकारात्मक सोचको विकास गर्नुपर्ने बताउँदै उक्त पुस्तक युवाका लागि प्रेरणाको स्रोत हुने बताए ।

सञ्चारकर्मी बविता बस्नेत, संस्कृतिविद् रमेश ढुंगेल, लेखक चक्रपाणि नेपाल र डा चन्द्रमणि भण्डारीले पनि बोलेका थिए ।

बीस अध्यायमा विभाजित उक्त पुस्तकमा लेखकको स्थलगत भ्रमण, यात्रा संस्मरण, संस्कृति तथा समाजका समस्याहरू खोटो सिक्का, खानेपानीको समस्या आदि शीर्षकमा समावेश गरिएको छ ।

Loading...