प्रतिबन्धपछि नेकपाका कार्यालय नियन्त्रणमा लिँदै सरकार

बुटवल, ५ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले धरपकड बढाउँदै गएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएर देशभर नेकपाका कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएको सरकारले सो पार्टी निकट रहेका व्यवसायीहरुलाइ पनि अनावश्यक दुख दिन थालेको खबर आएका छन् ।

यसैबीच रुपन्देहीको बुटवलमा रहेको नेकपाको कार्यालय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उसो त सो पार्टीले सुरुदेखि नै औपचारिक रुपमा पार्टीका कार्यालय खोलेको थिएन । पार्टीको औपचारिक रुपमा केन्द्रीय कार्यालय नरहेको भए पनि कतिपय जिल्ला कमिटी र जनवर्गीय संगठन र विभागका भने कार्यालय रहेका थिए । बुटवलको मध्य बजारमै नेकपाले ठूलो घर नै लिएर कार्यालय चलाएको थियो ।

‘रातो घर’ को नामले चर्चा पाएको उक्त घरमा प्रहरीले हस्तक्षेप गरी नेकपाको साइनवोर्ड, झण्ड, व्यानर सबै हटाएको छ । प्रतिबन्धको निर्णयपछि बन्द जस्तै रहेको सो कार्यालयमा लगाएको ताला तोडेर प्रहरीले त्यहाँ रहेका नेकपाका झण्डा ब्यानरका साथै अन्य सामान पनि हटाएको बताइएको छ ।

उक्त घर एक दशक अगाडिदेखि नै माओवादी पार्टीको नियन्त्रणमा थियो । एउटै माओवादी पार्टी हुँदादेखि नै नियन्त्रणमा लिएर पार्टी कार्यालय खोलिएको उक्त घर पार्टी फुट्दै जाँदा क्रमशः बैद्य र विप्लव नेतृत्वको पार्टीमा पुगेको थियो । तर, यो घर प्रयोग गरेवापत भाडा भने कसैले तिरेका थिएनन । विवादमा रहेको उक्त घरमा जनयुद्धकालमा राष्ट्रिय वाणिज्य बैंकको कार्यालय रहेको थियो । शान्तिप्रक्रियामा आएपछि भने माओवादी पार्टीले कब्जा गरी पार्टी कार्यालय खोलेको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले माथिकै आदेशलाइ पालना गर्दै प्रहरीले सो भवनमा रहेका झण्डा र ब्यानर हटाएको बताएका छन् । कार्यालय नियन्त्रणमा लिन प्रहरीका साथ राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पनि पुगेका थिए ।

सिदार्थ राजमार्गको छेउमा पर्ने यो घर राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको जनाएको छ । अहिले रहेको घर भत्काएर नयाँ कार्यालय भवन बनाउन बैंकले प्रयास गरिरहेको भए पनि पार्टीको कब्जामा भएका कारण सकेको थिएन । अहिले राष्ट्रिय वाणिज्य बैंकले भाडाको घरमा कार्यालय चलाएको छ ।

Loading...