कथा- प्वाँले गोरु

धनवीर मध्य पहाडी क्षेत्रको एउटा गाउँमा बस्दथ्यो । जेनतेन गरेर खान पुग्ने थोरै जमिन थियो । पहाडी भिरालोमा जोत्नको लागि औजारको रुपमा एक हल झुले–तारेको जोडी थियो । साथमा गर्भिणी गाई थिर्इ । माचमा १/२ वटा भैसी थिए भनें २/४ वटा बाख्राहरु पनि बाँधिएका थिए । पूर्वी क्षितिजमा छाएको लालिसँगै बिउँझिएर निशाको आगमन पूर्वसम्म ऊ तिनकै रेखदेखमा तल्लिन रहन्थ्यो । यो उसको पुस्तौंदेखि चलिआएको रीत नैं थियो ।
बैशाख महिनाको मेघ गर्जन सहित बर्सिएको बर्षातले किसानहरुलाई राहतको महशुस भइरहेछ । मध्य पहाडी भेगका किसानहरुका लागि आफ्ना पाखो बारीमा मकै खेती लगाउने चटारोको समय हो बैशाख महिना । यो समयमा बर्षात हुनु भनेको शुभ सकुन हो कृषकहरुका लागि । त्यसैले यो वर्षातले भिजेको चिसो माटोलाई सुक्न दिएर खेती नगर्नु भनेको आफ्नै पेटमा लात मार्नु सरह नै हुन्छ । त्यसैले कृषकहरु आ–आफ्ना हल गोरुका साथ बारीका पाटाहरुमा जोतिरहेका छन् । धनवीरले पनि आफ्ना झुले–तारेलाई बारीमा लगेर नाऱ्यो ।
यहाँ साथमा हल गोरु नहुनेहरु पनि प्रशस्तै छन् । हल गोरु साथमा नहुनेहरु छिमेकीसँग अर्म–पर्म मिलाएर आफ्नो बारीमा जोताउँदछन् । यद्यपी साथमा हल गोरु नहुने कृषकहरु आफ्नो बाली लगाउने अनुकूल समयलाई गुमाउन पुग्दछन् र जसको प्रतिकूल असर तिनले भोगिरहेका हुन्छन् । यसबाट पनि हल गोरुको महत्व प्रष्ट हुन्छ ।
धनवीरले बिहानदेखि बेलुकासम्म जोतेर हल फुकायो । झुले–तारेले पनि ज्यानले भ्याएसम्मको साथ दिएर आफ्नो परम्परालाई निर्वाह गरे । बिहान घँस्याएर नारेका गोरु धेरै नै भोकाइसकेका थिए । एकछिन यताउती खुट्टा तन्काउन दिएर तिनलाई गोठमा लगेर बाँधिदियो र दुवैको बिचमा पर्ने गरेर घाँस राखिदियो । आफ्ना वस्तुभाउ मध्येमा ऊ हलगोरुमा विशेष ध्यान राख्दछ । बेला बेलामा ऊ आफ्ना हल गोरुलाई विशेष खाना पनि खुवाउने गर्दछ । यस्तै एक पटक तिनीहरु दुब्लाएका बखतमा चाँडै मोटाउन भनेर मकैको पिठोमा पहाडी कुखुराका अण्डा मिसाएर लगातार ४/५ दिनसम्म खुवायो । नभन्दै तिनीहरु राम्रैसँग फेरिए । झुले–तारे यतिसम्म बलिया भए कि उनीहरु बिचमा शक्तिको उन्माद नैं पैदा भयो । परिणामतस् हल हल नैं आपसमा जुधेर तारेले आफ्नो एउटा सिङ्ग नैं गुमाउन पुग्यो । त्यस पश्चात् उसले अण्डा खुवाउन नै बन्द गरेको थियो ।
“पहिला–पहिला तल्लो पाटो सिध्याएर पनि माझपाटो आधा आधी पारिन्थ्यो । तर, आज तारेकै कारण तल्लो पाटो मात्रै छरियो । अब विचरा बुढो भएछ !” धनवीरले मनमनै विचार गऱ्यो र मन लागि नलागी घाँसको त्यान्द्रो टिप्दै गरेको तारेलाई घाँटीमा मुसार्दै उसप्रति स्नेह पोख्यो । लगत्तै नै उसले तारेको विकल्पको आवश्यकता महशुस गऱ्यो । तर, आफुले केही पनि वचत गर्न नसकेको र तारेको विकल्प भित्र्याउनको लागि आवश्यक श्रोत साधन जुटाउनलाई पर्ने मुश्किल सम्झिएर उm दुस्खी भयो ।
जेनतेन मकैका बिउहरु चिसो माटोमा पार्न सकिएकोमा उसको मन प्रसन्न थियो । ४/५ दिन लगातार जोतेर उसले आफ्नो प्रमुख बाली लगायो । यसै बिचमा उसको गाई पनि ब्यायो । गाईले धनवीरको आवश्यकता बुझे झै गरेर बाच्छोलाई जन्म दियो । बाच्छो सुनौंलो रंगको मृग झै सुन्दर थियो । उसले त्यसको नाम प्वाँले राख्यो । गाई दुधालु थियो । धनवीर दुध दुहुन आफै बस्दथ्यो र आधा भने प्वाँलेको लागि छोडिदिन्थ्यो । ताकि त्यो ह्ष्टपुष्ट भएर चाँडै सप्रियोस् ।
समय चक्रसँगै आजीवन धनवीरका लागि जमिन खोस्रिनलाई सघाउने तारे अब हलो तान्न नसक्ने गरी बुढो भइसकेको थियो । तर, पनि धनवीर निष्फिक्री थियो किनकि उसले प्वाँलेलाई तारेको अवतारको रुपमा देखेको थियो ।
वसन्त पञ्चमीको दिन साना केटाकेटीदेखि लिएर विद्वत वर्गसम्म सरस्वती पुजामा व्यस्त छन् । धनवीरको प्वाँले पनि बहर भइसकेको थियो ।
‘आज राम्रो दिन, पवित्र ज्ञान आर्जनको शुभारम्भ गर्ने दिन ! प्वाँले अब ठूलो अनि बलियो भइसकेको छ । आफ्नो कामको लाइनलाई समयमै पक्डनु नैं उत्तम हुन्छ । त्यसैले उसलाई पनि आफूले गर्नु पर्ने कामको बारेमा शिक्षा दिन ढिलाइ गर्नु हुँदैन ।’ धनवीरले विचार गऱ्यो ।   हिउँदे बालीनाली भित्राएर बारी खाली थियो । उसले प्वाँलेको लागि सरस्वति मातासँग आशिर्वादको कामना गर्दै टिका लगाइदियो र दाउनको लागि बारीमा लग्यो ।
धनवीरले झुले र प्वाँलेको गर्दनमा जुवा भिराएर जोतारोले सोइला कस्यो । जुवाको बिचमा झुण्ड्याइएको हल्डुँडोमा हरिस घुसाउँदै दाउनको लागि तयार भयो । जुवाको भारी गर्दनमा परे देखुन् नै मुन्टो भुँइमा लतारेर बसेको प्वाँले धनवीरको अपेक्षा विपरीत जोत्नको लागि तयार भएन । धनवीरलाई हलो थाम्न नैं मुश्किल पर्ने गरेर प्वाँले उफ्रन थाल्यो । उफ्रने क्रममा पछाडिका दुवै खुट्टा हावामा फ्याँक्दै जताततै बुर्कुसी कस्न थाल्यो । बहरले यो अप्राकृतिक मानवीय क्रियाकलापलाई असहज महशुस गऱ्यो र सकेसम्म प्रतिकारमा ओर्ली यो सायद ।
धनवीर भने बहर जति उफ्रन्थ्यो उती नै हलोलाई जमिनमा थिच्दथ्यो । उसले यस्ता धेरैवटा जुरोवाला बहरहरुलाई दाइसकेको थियो । तर, यो प्वाँलेको छन्द हेर्दा अलि बढी नैं कसरत गर्नुपर्ला भन्ने अनुमान लगाइसकेको थियो । जुवा काँधमा परेदेखुन नै उप्रmने क्रममा काँधका मुलायम छाला जुवामा घोटिंदा प्वाँलेले असह्य बेदनाको महशुस गऱ्यो र छुटकारा पाउन जुवा फर्कायो । हलो तानेर अगाडि बढ्नु पर्ने गोरु काँधमाथिको जुवा घाँटीमा झुण्ड्याएर हली पट्टी फर्कियो ।
“काम छल्न त निकै सिपालु रहेछ । कहाँ सुख पाउँछस्, गोरु भएर जन्मिए पछि !” –भगवानले मानव जातिको लागि धर्ती जोतेर अन्न उब्जाउनकै लागि गोरुको सृष्टि गरेका हुन् । त्यसैले उसमाथि मानवको पूर्ण प्रभुत्व हुन्छ भनें झै गरेर प्वाँलेको गर्दनमा जुवा कस्दै ऊ गुन्गुनायो ।
त्यस दिन प्वाँलेले थुप्रै पटक यो क्रिया दोहोऱ्यायो । धनवीरले पनि हरेक पटक उसको गर्दनमा जुवा थमाएरै छाड्यो । बहरको उफ्राइमा परेर झुले त थाकेको थियो नै, धनवीरको पनि ज्वरो फुट्ला झै भयो । उसले निकैबेरको सङ्घर्ष पश्चात् हल फुकाइदियो ।
धनवीरले दुवैलाई किल्लामा बाँधिदियो र एक मुठा पराल फुकाएर दुवैको बिचमा पर्ने गरेर राखिदियो । प्वाँले भने अझै पनि झोक्राएर बसिरहेको थियो । धनवीरलाई उसको माया लागेर आयो । नजिक गएर प्वाँलेलाई मुसाऱ्यो । प्वाँले धेरै बेरसम्म पनि धनवीरलाई घुर्की देखाएर मानव बच्चा रिसाए झै गरेर मुन्टो निहुराएर झोक्रिएर उभिइरह्यो । एक मनले त प्वाँलेलाई नजोतु झै भयो धनवीरलाई । तर, के गर्नु मानवलाई भगवानले यति धेरै शक्तिशाली मस्तिष्क बनाइदिए, त्यसको अनुपातमा कर्मशील पाखुरा पछाडि पर्न गयो । परिणामत: पशुपन्क्षीको पसिना खानलाई मानव जाति बाध्य छ । धनवीर पनि प्वाँलेलाई जोत्न बाध्य थियो ।
भोलिपल्ट पनि उसले बहरलाई नाऱ्यो । प्वाँलेको काँध हिजोको भन्दा पनि अझै बढी दुखेको थियो । त्यसैले प्वाँलेले एक सियो पनि नजोत्दै ४/५ पटक जुवा फर्काइसकेको थियो । धनवीर पनि हार नमानी बहरलाई पाको बनाएर नैं छाड्ने धुनमा दृढ थियो । तर, प्वाँले जोत्नको लागि तयार थिएन । उसले काम छल्नको लागि नयाँ नयाँ तरिकाहरु अपनाउन थाल्यो । आफूलाई जोतेरै छोड्ने धनवीरको धैर्य नटुटेको देखेर प्वाँले सियोमा नै थुचुक्क बस्यो र मरेतूल्य बनेर लम्पसार पऱ्यो । एकपछि अर्को बैगुण थपिन थालेपछि प्वाँलेप्रति धनवीरको मस्तिष्कमा असीम घृणाले डेरा जमाउन थाल्यो । उसले प्वाँलेलाई उठाउन झक्झकायो । पुच्छर निमोठ्यो तर त्यसले चालचुल देखाएन । धनवीरले प्वाँलेको काँधबाट जुवा उतारेर स्वतन्त्र गरिदियो । पुच्छरमा समातेर तीन बल्ड्याङ् खुवाउँदा पनि बहरले निदाउने अभिनय छोड्न चाहेन ।
“घामट नाम्ले” भन्दै निश्वास झै प्वाँलेको डँडाल्नोमा लौरोले बजार्दै भुत्भुताउँदै ऊ घरतिर लाग्यो । धनवीर गएको केही क्षण पश्चात् नैं प्वाँलेले मुन्टो उठायो र जुरुक्क उठेर गोठतिर लाग्यो ।
त्यो हिउँदभरी उसले प्वाँलेलाई दाउन बारीमा नाऱ्यो । तर, बहर काँध फुटाएर पाको होला भन्दा झन् झन् बेकम्मा बन्दै गइरहेको थियो । काँधमा जुवाको स्पर्श मात्रैले पनि प्वाँले लम्पसार परेर सुत्नु दैनिकी बन्न थाल्यो । धनवीरको लौरोको चोटले मृग जस्तो प्वाँले हेर्दा हेर्दै लुतोले भुत्ला खुइलिएको कुकुर जस्तो कुरुप देखिन थालेको थियो । त्यसैले प्वाँले अब धनवीरको नजरमा रिस उठ्दो चिज जस्तो लाग्न थालेको थियो । प्वाँले उठेर हलो तान्नु भन्दा लौरोको वर्षा सहन गर्न तयार थियो । सुतेको प्वाँले उठाउन धनवीरले पुच्छर निमोठ्थ्यो, ढुङ्गाको अचानोमा राखेर पुच्छरमाथि काठले च्याप्दथ्यो । सो क्रममा पुच्छरका रौं उखेलिन्थे, छाला खुइलिन्थे । प्वाँले भित्रभित्रै सहिदिन्थ्यो तर उठेर जोत्दैनथ्यो ।
अब त धनवीरलाई यस्तो लाग्न थालिसकेको थियो कि प्वाँलेले जोत्ने चाहिं होइन बरु दाउनलाई खटिएको झुलेले चाहिं उसको सिको सिक्ला भनेर डराउन थालिसकेको थियो । धनवीरको प्वाँले बहरको बारेमा गाउँका सबैले थाहा पाइसकेका थिए । त्यसैले हल नार्नासाथ वरिपरिका छिमेकीहरु धनवीरकाँ रमिता हेर्न जम्मा भइहाल्थे । जुवा काँधमा राख्नसाथ सुत्ने प्वाँलेलाई उठाउन तिनीहरुले आ–आफ्ना तौर तरिकाहरु सुझाउँदथे ।
“अब त्यसरी पुच्छर च्यापेर मात्रै हुँदैन ठूले, यसको नाकमा जिरे खुर्सानीको धुप हालिदिनु पर्दछ ।” लम्पसार परेको प्वाँलेलाई उठाउने उपाय सुझाउँदै एक वृद्धले आफ्नो सम्भावित उपाय रच्दै भने ।
नभन्दै पिरोको रागले प्वाँले उठ्यो र मडारिंदै हिंड्यो । उसको त्यो दुर्लभ हिंडाइको सदुपयोग गर्दै धनवीरले हलो मजासँग जमिनमा गाड्यो । जिरे खुर्सानीको औडाहाले प्वाँले एक छेउबाट अर्को छेउसम्म आँसु खसाल्दै हिंड्यो । पिरोको डाहा केही मर्रसाथ प्वाँले लम्पसार परेर अचल भइ सुतिदिन्थ्यो । धनवीर भने नाकको पोरामा पुऱ्याएर खुर्सानीको धुप दिने गर्दथ्यो । यो उपायले ३/४ पटक त काम गऱ्यो तर उसले त्यो जिरे खुर्सानीको डाहलाई पनि पचायो । अब उसको नाकमा जति नैं खुर्सानीको धुप दिए पनि बेपर्वाही भइ शान्तसँग पल्टिएर बस्न सक्दथ्यो ।
समस्या नै उपायका रचनाकार हुन् भनें झै प्वाँलेलाई ठीकमा ल्याउन त्यहाँ विविध उपायहरु सिर्जना गरिए । त्यही छिमेकी मध्येकाले दिएको सल्लाहअनुसार कमिलाको गोला लिएर पसारिएर रहेको प्वाँलेको शरीरमा राखिदियो । सुरुको २/३ पटक त जिउ रगरगाएको कारणले गर्दा उठेर हिंड्यो । तर, पछि उसले त्यो पनि पचायो । धनवीरले कैयौं पटक प्वाँलेको शरीर छेउनिरै पराल बालेर पनि तर्सायो । तर, प्वाँले स्थायी रुपमा तर्सिएन ।
धनवीर त अब हारिसकेको थियो । छिमेकीहरु पनि त्यो अचम्मको बहर देखेर छक्क थिए । मानिसले जोत्छु भनेर नारेका गोरुले नजोतेको उदाहरण प्वाँले वाहेकलाई तिनले देखेका थिएनन् । एक प्रकारले तिनीहरु प्वाँलेसँग हारिसकेका थिए । कसैले तिनीहरुलाई दाउँ बहर दाउन नसक्ने के हो रु भनेर हाजिर जवाफमा सोधियो भने तिनले प्वाँले बहर (बाघ होइन) भन्ने थिए ।
दाउने क्रममा प्वाँलेले लाठी कति खायो, त्यो त गणना नैं थिएन । पुच्छर भाँचिएर गाँठागुँठी परेका थिए । रौं उखेलिएर आङ नाङ्गै थिए । पराल बालेर थुतुनोमा हान्दा लागेका घाउहरु चैत्रको गरमले पाकेका थिए । प्वाँलेलाई उठाउन बाँकी रहेको एक मात्र उपाय नाक मुख थिचेर श्वास फेर्न नदिनु वाहेक अन्य विकल्प बाँकी थिएन । उसले यो उपाय पनि प्रयोग गऱ्यो तर परिणाम शून्य वाहेक हात लागेन । ऊ आजित भयो ।
उसले प्वाँलेप्रति गरेको माया सम्झियो । सप्रियोस भनेर आधी भाग दुध उसैलाई छोडिदिएर गरेको लगानीलाई सम्झियो । अहिले आफुलाई आवश्यक परेको बेलामा प्वाँलेले धोका दिएको देखेर धनवीरको व्रम्हाण्ड तातेर आयो । प्वाँले अब बेकामको चिज हो भन्ने उसले विचार गऱ्यो । यो अब खेद्वा (थारा, बुढाखाडा गाई वस्तु लग्ने व्यापारी, जसले तराइ हुँदै सीमा पार गर्दछन् । अन्ततस् ती वस्तुभाउ मासुका लागि काटिन्छन्) को लागि मात्र उपयोगी छ । यसलाई खेद्वा वाहेक अरुले लग्दैनन् भन्ने धनवीरले विचार गऱ्यो । किनकि प्वाँलेको बारेमा नजान्ने ओल्लो गाउँ पल्लो गाउँमा कोही पनि बाँकी थिएनन् ।
एक दिन धनवीरकाँ खेद्वाहरु पुगे । तिनीहरु प्वाँलेको लागि मोलमोलाई गर्दै थिए । अन्तमा मूल्यको एउटा अंकमा गएर उनीहरु बिचमा सहमति बन्यो । गाउँकै एउटा किसान कान्छो अगाडिदेखि नै उनीहरु बिचको मोलमोलाइ हेर्दै थियो ।
“विचरा काटिने छ कलिलैमा ! निर्दयी रहेछ धनवीरे ।” कान्छोले मनमनै विचार गऱ्यो ।
फुर्के एक्लै छ, त्यसलाई जोडी पनि हुन्छ । जोतेन भने पनि गोठको सोभा बढ्छ । गोरु रुपी प्राणी हामी कृषकहरुका लागि भगवान हुन् । प्वाँलेलाई म आफै लगेर पाल्छु । त्यसैले कान्छोले धनवीरको अङ्कित रुपैयाँ तिरेर प्वाँलेलाई आफ्नो घरमा लग्यो । धनवीर पनि प्वाँलेलाई खेद्वाको हातमा सुम्पेर पापको भारी बोक्नु भन्दा कान्छोलाई दिन पाउँदा खुसी नै थियो ।
“ हेर ! कस्तो विजोग बनाएछ विचरालाई ! पाप लाग्छ त्यो धनवीरेलाई ।” प्वाँलेको जिउमा लागेको घाउ सफा गर्दै कान्छो गुन्गुनायो ।
यदि यसले जोत्न चाहेन भने यसको मर्जी ! जवरजस्ती जोत्नै पर्छ भन्ने छ र ? प्वाँलेको पक्षमा उ बोल्यो ।
कान्छोले देखाएको माया तथा स्नेहलाई प्वाँलेले अन्रआत्माबाट अनुभूती गऱ्यो । प्रतिक्रियाको लागि उसले पनि कान्छोका हत्केला तथा पिंडुलामा चाटेर व्यक्त गर्दथ्यो । दैनिक रुपमा घाँस तथा खोले खान पाएर प्वाँले १५/२० दिनमा नैं पुनस् मृग झै चिल्लो तर डँडाक भयो । उसका शरीरमा लागेका चोटहरु मेटिएर रौंले टम्म ढाकिए । घोडाका झै लामा लामा खुट्टा, आकर्षक अनि बलिष्ठ शरीर, अगाडितर्फ घुमेका सिंङ्गै, साँच्चै नै प्वाँले अब जवान देखिन थाल्यो । उसले पदचाप बढाउँदा उसको काँधको जुरो दायाँ वायाँ गर्दै लच्किएर एक प्रकारको आकर्षण पैदा गराउँदथ्यो र त्यो एउटा रहर लाग्दो चिज झै देखिन्थ्यो । यस्तो चित्ताकर्षक बहर आफ्नो गोठमा बाँध्न नचाहने को किसान होलान् ! कान्छोले मनमनै विचाऱ्यो । प्वाँले जस्तो रुपरंगको गोरु यस भेकमा नै छैनन् । त्यसैले यो ब्याडको लागि उत्तम छ । बरु वाहाल अरुको भन्दा कम नैं लिउँला ।
“व्याड साँढे त पालिस् कान्छा, तर यस्ताको सन्तान बढाएर कस्ले आफ्नो गोठ बिगारोस् !” प्वाँलेको बेकम्मापन प्रति खिल्लि उडाउँदै छिमेकी वृद्घ बोले ।
वृद्घको छुद्र वाक्यले कान्छोको मन चिसो भयो । उसको सपना एकाएक भत्किए झै अनुभूति भयो । धनवीरले नजोत्ने प्वाँलेको उपयोगिता समाप्त भएको ठहऱ्याए पनि कान्छाको नजरमा त्यो गलत थियो । तर, वृद्धको भनाइले प्वाँलेप्रति लुप्त रहेको आकांक्षा कान्छाले त्याग्यो । प्वाँले आफैमा त लायक नै थियो । मान्छेद्वारा तोकिएको काम नगरिदिँदा उ नालायकमा गनिन पुगेको हो । यो संसार मानव प्रभुत्वको हो । यहाँ कुनै पनि प्राणी (प्रेमपूर्वक) बाँच्न चाहन्छ भने मानवको सेवामा समर्पित भएर मात्र संभव छ । त्यसैले प्वाँलेले पनि यहाँ सक्षम भएर बाँच्नु पर्दछ । उसले आफ्नो धर्म (जोत्नु) निर्वाह गर्नु नै पर्दछ । प्वाँलेलाई अब दाउनु नै पऱ्यो । कान्छोले विचार गऱ्यो ।
भोलिपल्ट नै कान्छोले प्वाँलेलाई दाउनको लागि बारीमा लिएर गयो । उसले फेरि आफ्नो पुराना दिनहरुलाई सम्झियो । मान्छेको प्रयासलाई कसरी विफल पार्नुपर्दछ भन्ने कुरामा उm प्रष्ट थियो । प्वाँले आफ्नो सम्पूर्ण जिउ जमिनमा फ्याँकेर लम्पसार पऱ्यो र डेग नचली निश्वास झै बनेर मरेतूल्य भयो । उसलाई थाहा थियो, अब कान्छोले पनि धनवीरले झै आफ्नो पुच्छरलाई अचानोमा राखेर चेप्नेछ । नाकका प्वालहरुमा जिरे खुर्सानीको धुप दिनेछ भने शरीरभरी कमिलाको गोला खन्याउनेछ । र अन्तमा केही सिप नचलेपछि मेरो श्वास थिच्न आउनेछ ।
तर, कान्छोले त्यस्तो केही पनि गरेन । उसले हलोको अनौं छाडेर प्वाँलेको समीपमा गएर थचक्क भुर्इमा बस्यो । उसले प्वाँलेलाई जिउमा मुसार्दै आत्मियता देखायो । घाँटीमा टाँसिएर रहेका किर्नाहरु टिपेर फ्याँक्दै कन्याइरह्यो । उm जति जति सुम्सुम्याउँथ्यो, प्वाँले त्यति नै आनन्द मान्थ्यो । कान्छोले यसो गर्दा मुन्टो ठाडो पारेर आफु मरिसकेको अभिनय गर्न प्वाँलेले भुल्दथ्यो ।
“ उठ्, अझ सुत्छस् ! तँलाई ठग … ।” कान्छोले लेग्रो तानेर मायालु पारामा हप्कायो । प्वाँले पनि लाज मानेझै गरेर जुरुक्क उठ्यो र हलो घिसार्दै अगाडि हिंड्यो । त्यस दिन थुप्रै पटक सो क्रिया दोहोऱ्यायो । तर, हरेक पटक उसले प्वाँले प्रति क्रुररता देखाएन । बरु स्नेहपूर्ण स्पर्शद्वारा प्वाँलेलाई उठाउन सफल भयो । यस क्रममा कान्छोले २/४ सियो जोत्न पनि सफल भयो ।
हल गोरुलाई दाना पानी दिएर उ केही क्षण सुस्तायो । उm आज केही सन्तुष्ट थियो । प्वाँलेलाई चुटेर होइन, मायाको स्पर्शले नैं जित्न सकिन्छ भनेर ऊ विश्वस्त बन्दै गयो ।
बैशाख महिनाको मध्ये भइसकेको छ । पहाडमा मकै छर्ने काम जोड तोडका साथ सम्पन्न भइरहेका छन् । कान्छोले पनि आफ्नो फुर्के र प्वाँलेको हललाई बारीमा लगेर नाऱ्यो । कान्छो यसपालीदेखि प्वाँलेको बाली खाने सुरमा छ । कान्छाका साथमा उसकी श्रीमती र छोरा छन् । उसकी श्रीमती हातमा एक मुठी चिप्ले नामक हरियो डाले घाँस बोकेर गोरुको अगाडि अगाडि लोभ्याउँदै हिंडिरहेकी छिन् । कान्छोले जोतेको सियोमा पर्ने गरेर उसको छोरा मकैका बिउ खसाल्दै हिंडिरहेछ । प्वाँले अब भुइँमा लम्पसार पर्न छाडेर हरियो घाँसमा नजर राख्दै अगाडि बढिरहेछ । तर, त्यो हरियो घाँस पाउन उसले एउटा कुनादेखि अर्को कुनासम्मको दूरी पार गर्नुपर्दछ र सो वापत उसले एक मुख हरियो चिप्ले घाँसको स्वादानुभूति गर्न पाउँदछ ।
हरियो घाँसको लोभमा अब प्वाँले निरन्तर अगाडि बढ्न थाल्यो । यो क्रम लगातार रुपमा ४/५ दिन चल्यो । उसका गर्दनका छाला फुटेर रग्ताम्य भए । कान्छोले प्वाँलेको गर्दनमा तोरीको तेल र बेसारको लेप बनाएर लगाइदियो । केही समयको अन्तरालपछि घाउ खाटा बस्यो । अब प्वाँले क्रमशस् पाको हुँदै गयो ।
संसारका हरेक प्राणीलाई आशाले डोऱ्याएको हुन्छ । प्रेमले नै प्राणीको आत्मामा आशाको संचार गराउँदछ । आशाले नै विघ्न बाधालाई हटाएर अगाडि बढ्ने प्रेरणा प्रदान गर्दछ । तर, क्रुररताले यसको विपरीत गर्दछ । जस्तोसुकै असम्भवलाई पनि क्रुरताले होइन, प्रेमले जित्न सकिन्छ । मानव मात्र होइनन, हरेक प्राणी यस धर्तीमा आत्म सम्मानका साथ बाँच्न चाहन्छन् । अन्ततस् कान्छाले प्वाँलेमा आशाको संचार गराएरै छाड्यो र उसमाथि विजय प्राप्त गऱ्यो । उसले प्वाँलेलाई दाउँदा दाउँदै मकै पनि छऱ्यो र अझ साहसिक काम त प्वाँलेलाई आफ्नो कर्मप्रति जागरुक गराएरै छाड्यो । त्यसैले ऊ प्रशन्न थियो ।
कान्छाको बारीका कण कणमा स्पर्श गरेर प्वाँलेले धेरै वर्षहरु बितायो । यसबीचमा धेरै गाउँलेहरुका जमिन जोतेर आफुभित्र रहेको कर्मशील क्षमतालाई मान्छेका हजूरमा पेश गऱ्यो । विगतमा आफुमाथि लागेको बेकम्माको कालो धब्बालाई पसिनाले स्नान गरेर चोखिदै आफ्नो जन्म मानवको दुस्खमा साथ दिनको लागि नै भएको हो भन्ने कुरालाई कर्मद्वारा नै प्रमाणित गऱ्यो ।
समयले सबैलाई वृद्घ बनाउँदछ । प्वाँले पनि वृद्घ भयो । एक दिन तिनै खेद्वाहरु प्वाँलेलाई खरिद गर्न आए । प्वाँलेले लगभग दुई दशकसम्म कान्छाको बारीको माटोलाई उराली उराली चालेको थियो । त्यस नाताले पनि प्वाँले त्यो घरको सदस्य बनिसकेको थियो । यत्रो वर्षसम्म प्वाँलेले लगाएको गुणलाई बिर्सिएर खेद्वाको साथमा पठाउन कान्छाको मन पटक्कै राजी थिएन । तर, कान्छालाई प्वाँलेको विकल्प तुरुन्त आवश्यक थियो । त्यसको लागि उसलाई बेच्नु पर्ने परिस्थिति कान्छामा लागु भयो । उनीहरु बिचमा एउटा अंकमा सहमति भयो । यो पटक खेद्वाबाट प्वाँलेलाई फिर्ता ल्याउने कुनै अर्को कान्छा देखा परेन । किनकि प्वाँलेमा भएका उर्जाहरु सम्पूर्ण रुपमा समाप्त भइसकेका थिए ।
कान्छाले प्वाँलेको शिरबाट ५/७ वटा रौंहरु उखेलेर किल्लातिर टक्टकायो । यसो गर्दा सायद प्वाँलेमा अझै कुनै लक्षिणका गुणहरु छन् भने त्यो पनि यही गोठमा रहून् र प्वाँले विल्कुल रित्तो भएर जाओस् । प्वाँलेका आँखा गोठ भित्रको अँध्यारोमा टिल्लसँग टल्किरहेका थिए । उसका आँखाका कोषहरु कचेराले भरिएका थिए । खेद्वाहरु प्वाँलेको गर्दनमा बाँधेको दाम्लो समाएर गोठबाट बाहिर तान्दै थिए । प्वाँले बाहिर निस्किन नै मानिरहेको थिएन । ऊ भारी मन लिएर डेग नचली उभिइरहेको थियो । खेद्वाहरु प्वाँलेलाई ठूलो ठूलो स्वरले हप्काउँदै बाहिरतिर घिच्याउँदै थिए । कर बलले प्वाँले आगनसम्म निक्लियो ।

मालिकले आफुलाई सदाको लागि खेद्वाको हातमा सुम्पदै छ भन्ने कुरा थाह पायो प्वाँलेले सायद । उसले विगतमा कान्छाले गरेको मायालाई सम्झियो । यत्तिकैमा प्वाँलेले बर्रर्र आँसु खसाल्यो र घत्रक्क त्यही बस्यो । प्वाँले लम्पसार परेर पल्टियो । यस पटक उसले धनवीरलाई छक्याए झैं गरेर छक्याएको थिएन । कान्छोले प्वाँलेलाई उठाउन जिउभरी मुसाऱ्यो । किर्नाले टोकेको ठाउँमा कन्याइदियो । तर, प्वाँलेले आनन्द मानेर मुन्टो ठाडो पारेन । प्वाँलेको प्राण गइसक्यो भनेर धेरैबेर पछि मात्र कान्छोले थाहा पायो । ऊ भक्कानिएर रुँदै प्वाँलेलाई अँगालो हाल्यो । खेद्वाहरु पैसा फिर्ता लिएर आफ्नो बाटो लागे । कान्छाले दिनभरी लगाएर बारीको कान्लामुनि खाल्डो खन्यो । प्वाँलेको नापमा बराबरी भएपछि उसको जड शरीरलाई घिसार्दै लग्यो र पुरेर घर फर्कियो । प्वाँलेको अभावमा त्यो रात उm सुत्न सकेन ।

Loading...