आर्थिक चलखेलले उमाशि परिषद्को बढुवा प्रभावित

भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्मा सहसचिव बढुवाका लागि बढेको विवाद अझै पनि टुंगो लाग्न सकेको छैन । परिषद्ले तीन वर्ष अघि सहसचिव बढुवाका लागि गरेको विज्ञापनको नतिजा विवादका कारण अहिलेसम्म पनि टुंगो लाग्न नसकेको हो । 

आन्तरिक कार्य मुल्यांकनका आधारमा गर्ने भनिएको उक्त बढुवा विभिन्न आर्थिक चलखेलका कारण अहिलेसम्म अवरुद्ध भएको हो । सहसचिव बढुवाका लागि परिषद्ले २०६९ भदौ २२ गते सार्वजनिक विज्ञापन गरिएको थियो । त्यसको एक वर्षपछि २०७० मंसिर १४ मा बसेको परिषद बैठकले तत्कालीन कायम मुकायम सहसचिव दुर्गाप्रसाद अर्याललाई बढुवाका लागि सिफारिस गरेको थियो । 

तर, उक्त सिफारिसप्रति असहमति जनाउँदै कायम मुकामय सहसचिव रामचन्द्र पाण्डे र उपसचिव डम्बर कुमार बतासले सिफारिस गरिएको मितिको ३५ दिनभित्रै उजुरी गरेका थिए । तर, उक्त उजुरीको अहिलेसम्म पनि सुनुवाई भएको छैन । निजामति सेवा ऐन २०६४ (दोस्रो संशोधन) र लोकसेवा आयोग (कार्य संचालन) निर्देशिका २०६७ अनुसार विज्ञापन गरिएको ४ महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने हो । त्यसैगरी परिषदेको कर्मचारी सेवा शर्त सम्बन्धी २०५३ को विनियम ३३, ३ उपविनियम २ वमोजिम यसरी परेका उजुरी उपर छाविन गरी उजुरी परेको २ महिनाभित्र निर्णय गर्नुपर्ने हो । तर, यी ऐन, नियमावली वा विनियमलाई लत्याउँदै परिषद्ले तीन वर्ष बित्दा पनि त्यसबारे कुनै पनि निर्णय गर्न सकेको छैन । 

समाचार स्रोतका अनुसार यो कार्यमा परिषद् र मन्त्रालयका केही मान्छेहरु मरिमेटेर आफ्नै मान्छेलाई सहसचिव बढुवा गर्न लागेका छन् । त्यसका लागि ठूलो आर्थिक लेनदेन पनि भइसकेको स्रोतको भनाई छ । 

यसैबीच उच्च माध्यमिक शिक्षा परिषदेको बैठक आज आइतबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा बस्दैछ । बैठकमा यो विषयलाई पनि एजेण्डाका रुपमा राखिएको बताइएको छ । परिषद्को बैठक मन्त्रालयमा राखिएपछि केही वोर्ड सदस्यहरुले यसप्रति असहमति जनाएका छन् । लामो समयसम्म बोर्डको बैठक नै हुन नसकेको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयमा बैठक राखेर झन् आलोचना बढाउने काम भएको उनीहरुको भनाई छ । त्यससँगै मन्त्री भएदेखि अहिलेसम्म शिक्षामन्त्री चित्रलेखा यादव उच्च माध्यमिक शिक्षा परिषद्मा एक पटक पनि नगएको भन्दै कर्मचारीहरुले पनि गुनासो गरेका छन् । मन्त्रालयबाटै परिषद् चलाउने प्रयास गरेको भन्दै केही कर्मचारीहरुले आलोचना पनि गर्ने गरेका छन् ।

Loading...