राजनीतिक नेतासँग मिलेर लागुऔषध कारोबार गर्ने प्रहरी पोल खुलेपछि ड्यूटी छोडेर फरार

विराटनगर । राजनीतिक दलका नेतासँग मिलेर एक प्रहरी जवानले लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । काठमाडौंको डिल्ली बजार कारागारमा कार्यरत एक प्रहरी जवान लामो समयदेखि लागुऔषधको कारोबारमा सम्लग्न भएको खुलासा भएको हो ।

आफ्नो पोल खुल्न लागेपछि ती प्रहरी जवान समातिनु अघि नै फरार समेत भइसकेको बताइएको छ । यसरी राजनैतिक दलका नेताहरुसँगै मिलेर लागु औषध कारोबार गर्ने प्रहरी जवान हुन जितेन्द्र यादव । ३० बर्षीय प्रहरी जवान यादव काठमाडौं डिल्लीबजारमा रहेको सदरखोर कारागारमा कार्यरत थिए । उनी त्यहीबाट विदा लिएर फरार भएको बताइएको छ ।

प्रहरीले उनका केही सहयोगीलाई भने पक्राउ गरेको छ । सहयोगी पक्राउ परेपछि उनी आफ्नो पोल खुल्ने र पक्राउ पर्ने थाहा पाएर फरार भएको बताइएको छ । उनले गत पुस अन्तिम साता नै ७ दिनको विदा लिएका देखिएको छ । त्यसपछि उनी अहिलेसम्म आफ्नो ड्यूटीमा नफर्किएको बताइएको छ । साथै उनी कहाँ छन भन्ने पनि थाहा नभएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान यादवले भारतबाट लागुऔषध तस्करी गरी नेपाल ल्याएर बिक्री वितरण गर्ने खुलेको छ । गत पुस २५ गते उनले लगाएका एक जना भरिया भारतबाट लागुऔषध ल्याउदै गरेको अवस्थामा पक्राउ परेका थिए । मात्रिकाप्रसाद यादव नाम गरेका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा उनी राजनैतिक दलका नेता र प्रहरी जवान यादवको निर्देशनमा काम गर्ने गरेको खुलेको हो ।

प्रहरी जवान यादव अखिल क्रान्तिकारीका नेता अभिमन्यु यादवसँगै मिलेर काम गर्ने गरेको बुझिएको छ । भारतको जोगवनीबाट ल्याएको लागुऔषध काठमाडौं पठाउन अखिल क्रान्तिकारी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई अध्यक्ष अभिमन्यू यादव यसअघि पक्राउ परिसकेका छन्् । उनी पक्राउ परेपछि डिल्ली बजार कारागारमा कार्यरत ३० बर्षका प्रहरी जवान जितेन्द्र विदा लिएर फरार भएका हुन् ।

त्यसैगरी अर्का भरिया मात्रिका यादवलाई पक्राउ गरिसकेको छ । प्रहरीले मात्रिकाको साथबाट डाइजेल्याब १०३ एम्पुल, एभिल १८५ एम्पुल, नोफिन १०० एम्पुल, फेनारगन १२१ एम्पुल गरी जम्मा ५ सय ९ एम्पुल बरामद गरेको जनाएको छ । मात्रिका पक्राउ परेपछि अनुसन्धानका क्रममा अभिमन्यू यादव पक्राउ परेका थिए । अभिमन्यू पक्राउ परेपछि प्रहरी जवानको सेटिङमा लागुऔषध काठमाडौंसम्म पुग्ने सञ्जाल पत्ता लागेको थियो ।

यादव पक्राउ परेको दिनदेखि सात दिनको विदा लिएर फरार रहेका जितेन्द्र प्रहरीको खोजी सूचीमा छन् । फरार भएका प्रहरी जवानको खोजी कार्य भैरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विराटनगरमा विद्यार्थी राजनीतिसँगै लागुऔषध ओसारपरमा व्यवस्थापकीय भूमिका खेल्दै आएका अभिमन्यु यादवको काठमाडौंमा सम्पर्क व्यक्ति जितेन्द्र थिए । जितेन्द्र र अभिमन्यूको संलग्नता टेलिफोन रेर्कडबाट पनि पुष्टि भएको प्रहरीको भनाइ छ ।

Loading...