कांग्रेसमा पारिवारिक प्रभाव झन बढ्दो, दाजु पार्टी अध्यक्ष, बहिनी महासचिव

नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीमा गान्धी परिवारको दवदवा बढेको छ । सोनिया गान्धीले पार्टी परित्याग गर्दा आफ्नै छोरा राहुल गान्धीलाई पार्टी अध्यक्ष बनाएकी थिइन भने तिनै राहुलले अहिले आफ्नै बहिनीलाई पार्टीको महासचिव जस्तो प्रभावशाली पद दिएका छन् ।

राहुलले बुधवार बहिनी प्रियंकालाई पार्टी केन्द्रीय कार्यालयमा लगेर महासचिवको पदबहाली गराएका हुन् । राहुलले प्रियंकालाई केही दिन पहिले मात्र पार्टीको महासचिवमा नियुक्त गरेका थिए ।

लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ ।

पार्टीलाई आसन्न निर्वाचनबाट फेरी सत्तामा पु¥याउनका लागि प्रभावकारी उपायको रूपमा प्रियंकाको नियुक्तिलाई व्याख्या गरिएको छ ।

झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका छन् ।

विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरू पहिलो प्रधानमन्त्री भएदेखि नेहरू–गान्धी परिवारको प्रभावमा रहेको छ । विगत पाँच वर्ष पार्टीको उपाध्यक्ष रहेका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट भारतीय काँग्रेस पार्टीको नेतृत्व लिने छैटौँ व्यक्ति बनेका छन् ।

उनले आफ्नी बहिनी प्रियंकालाई महासचिवमा नियुक्त गरेपछि राहुलपछिको अध्यक्षका रूपमा उनलाई सहजै हेर्न थालिएको छ ।

करिब १३ वर्ष पहिलेदेखि राजनीतिमा सक्रिय अविवाहित राहुललाई भने यसै वर्ष हुने लोकसभा चुनावपछि प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको छ ।

Loading...