पल्पसा क्याफेका सर्जक नारायण वाग्लेले ल्याए ‘कोरियाना कफीगफ’, के छ पुस्तकभित्र

काठमाडौं । पल्पसा क्याफेजस्तो चर्चित उपन्यासका सर्जक कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेको नयाँ पुस्तक बजारमा आउने भएको छ । सम्पादक वाग्लेले आफ््नो तेस्रो कृति कोरियाना कफिगफ छिट्टै सार्वजनिक हुने जानकारी दिएका छन् । कोरियाना कफीगफ सार्वजनिक नहुँदै चर्चा पाएको छ ।

यो कृति उनका अघिल्ला कृतिभन्दा बेग्लै हुने बताइएको छ । यसलाई सिर्जनशील गैरआख्यान भनिएको छ । सम्पादक वाग्लेले यो पुस्तकको प्रस्तुति शैली फरक भएको संकेत गरेका छन् । सामाजिक सञ्जालमा केही कौतुहलता जगाउने संकेत गरेका हुन् । यो कुन विधा वर्गिकरण गर्ने पाठककै जिम्मा हुने भनेर उनले यस्तो संकेत गरेका हुन् । गैरआख्यानलाई लेखक र सत्यको बीचमा बग्ने वायुसहित उभ्याउन सक्नु नै ‘कफीगफ’ले विकास गरेको स्वाद हो ।

समाचारको खोजीमा डुलिहिँड्ने संवाददाता रहँदै उनले आफूभित्रको साहित्यिक व्यक्तित्वलाई कान्तिपुर दैनिकको कोसेलीमा नियमित ‘कफीगफ’ मार्फत् प्रकट गर्न थालेका थिए। त्यसले नेपाली लेखनको एउटा फरक धारालाई विशिष्ट शैलीमा अघि बढाएको थियो। एउटा तन्नेरीले उतिबेला पहिल्याएको त्यो नवीनताले बेग्लै पाठक घेरा पनि बढाउँदै लग्यो।

वाग्लेले उभ्याएको त्यही जगमाथि सन् २००५ मा पहिलोपटक उनको उपन्यास ‘पल्पसा क्याफे’को जन्म भएको थियो।

समकालीन नेपाली साहित्यको पाठक घेरालाई फराकिलो बनाउनु त्यो पुस्तकको महत्त्वपूर्ण उपलब्धि बन्न पुग्यो। यसको ३० पटक पुनःमुद्रण भइसकेको छ। पाठ्यक्रमभित्र नसमेटिएरै पनि यति धेरै पाठक पाएको संभवत यो पहिलो नेपाली साहित्यिक कृति हो।

‘आज डेढ दसकपछि पनि यो पुस्तक वर्षेनी तीन हजार प्रति विक्री भइरहेकै छ,’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रकाशन इतिहासमै यो आजसम्मकै उल्लेखनीय उपलब्धि हो।’

युवा पुस्ताका लेखक र साहित्यकारहरूलाई प्रेरणा प्रदान गर्नसक्नु त्यस पुस्तकको अर्को महत्वपूर्ण उपलब्धि थियो। नेपाली साहित्यमा आजका चर्चित हस्ताक्षरहरूले सार्वजनिक रूपमै ‘पल्पसा क्याफे नभइदिए मेरो कृति आउने थिएन’ भनेर आफूलाई अभिव्यक्त गरिसकेका छन्।

वाग्लेको यो पहिलो प्रयासले त्यस वर्षको मदन पुरस्कारसमेत जित्न सफल भएको थियो। त्यसपछि वाग्ले दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लिएर उपस्थित भए।

‘पल्पसा क्याफे’मा जसरी नेपालमा चलेको दस वर्षे द्वन्द्वमा बाँचेका युवा पुस्ताको ढुकढुकी बनेको थियो त्यसैगरी ‘मयुर टाइम्स’ मार्फत् वाग्लेले मधेस विद्रोहको बाछिटालाई झल्काउन खोजेका थिए ।

अब भने वाग्ले उनी स्वयंले विकास गरेको आफ्नै ‘कफीगफ’ लाई निरन्तरता दिँदै तेस्रो कृतिमा प्रकट हुन खोजेका छन्।

‘नारायणको लेखन तीन शैलीमा वर्गीकृत छन्,’ लामो समयदेखिका मित्र समेत रहेका प्रकाशक किरण भन्छन्, ‘उनी एकातिर समाचार, लेख र सम्पादकीय लेख्ने पत्रकार हुन्। अर्कोतिर मन पराइएका उपन्यासकार हुन्। त्यसैगरी तेस्रो विशेषता भनेको उनी कफीगफ लेख्छन् ।’

यो ‘कफीगफ’ केही वर्षअघि वाग्ले कोरियामा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील लेखन कार्यशालामा सहभागी हुँदाको देन हो।

यसपटक गैरआख्यान लिएर आउनुको कारणबारे सोध्दा वाग्ले आख्यान वा गैरआख्यान जेसुकै भएता पनि यो साहित्यिक सिर्जना नै रहेको बताउँछन्। ‘अबको साहित्य संसारमा लेखनलाई गरिने वर्गीकरण पनि फेरिँदै गएको छ,’ उनी भन्छन्, ‘आख्यानात्मक जीवनी मात्र होइन, हिजोआज हामी गैरआख्यान उपन्यास समेत पढ्न थालिसकेका छौं।’

यस्तो अवस्थामा पाठकले ‘कोरियाना’ पढ्दा उपन्यासकै स्वाद पनि पाउन सक्ने वाग्ले बताउँछन्।

‘म यो पुस्तकको पहिचानलाई खुला राखिदिन चाहन्छु, ’ वाग्ले भन्छन्, ‘पाठकहरूले आफ्नो स्वाद अनुसारै यसको मजा लिउन् र यसलाई वर्गीकृत गरिदिउन्।’

पुस्तकलाई पब्लिकेशन्स नेपालयले नियमित विक्री वितरण प्रणाली मार्फतै मुलुकभर फिजाउने योजना तय गरेको छ।

यो पुस्तक सार्वजनिक हुनु अगावै पनि बुकिङ गरेर आफ्नो प्रति सुरक्षित पार्न सकिन्छ । त्यसका निम्ति पब्लिकेशन्सले www.thuprai.com, www.kitabyatra.com र www.sastobook.com जस्ता पोर्टलहरू प्रयोग गरेको छ ।

फेब्रुअरीको दोस्रो साता सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य हाललाई बाक्लो गाताको चार सय ९५ रुपैयाँ तय गरिएको छ।

Loading...