ठूलो हिमपात परेपछि गोसाइँकुण्डको आवागमन बन्द

रसुवा । यही माघ ८ गतेदेखिको भारी हिमपातका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पदमार्ग बन्द भएको छ ।

चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार हिमपातले चोलाङपाटीभन्दा माथि पैदलमार्गमा करीब डेडफिट हिउँ जमेकाले सो मार्गको आवतजावत बन्द भएको हो ।

पहिलापहिला विशेष धार्मिक पर्वमा मात्र आउने तीर्थयात्रु विसं २०७२ को भूकम्पपश्चात् बारै महीना निरन्तर आउन थालेका थिए । यात्रु तथा पर्यटकका रूपमा मानिसको चहलपहल बढिरहेको बेला हिमपातले गोसाइँकुण्ड जाने मानिस अहिले लौरीविनायकको फेद चोलाङपाटी बाटै फर्किन थालेको सो धार्मिक मार्गका पर्यटन व्यवसायीले बताएका छन् ।

गणेशगौडाबाट पूर्वतर्फ जाने मार्ग अप्ठयारो भिर भएकाले हिमपातले पैदल मार्ग ठम्याउन मुस्किल पर्ने र अर्काे तर्फ भिरको बाटो जोखिम बढ्ने भएकाले पैदलयात्रु चोलाङपाटी बाटै हिउँको आकर्षणबाट मोहित भएर फर्कने गरेको व्यवसायीको भनाइ छ । दैनिकरूपमा सरदर १५÷२० जनाले धार्मिक मार्गमा ओहोरदोहोर गर्ने गरेको बताइएको छ ।

हिमपात शुरू भएदेखि नै गोसाइँकुण्ड, लौरीविनायक तथा चोलाङपाटीका पर्यटकीय होटलका व्यवसायी बेँसीतर्फ झरिसकेका छन् । हिउँ पग्लिँनासाथ एक ÷ डेढ हप्तामा सबै होटलका मालिक यात्रुको बास र भोजनको व्यवस्था मिलाउन गोसाइँकुण्ड पुगी आफ्नो पेशालाई निरन्तरता दिने व्यवसायी लामाले जानकारी दिए ।

रसुवागढी सीमाक्षेत्रमा सरसफाइ

नेपाल–चीनबीच उत्तरी नाका रसुवागढी क्षेत्रको वातावरण सदैव स्वच्छ पार्ने उद्देश्यले रसुवागढी क्षेत्रमा सरसफाइ सम्पन्न गरिएको छ ।

राजस्व गस्ती एवं भन्सार सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा टिमुरेका नेपाली सेना, नेपाल प्रहरीसमेतको सहयोगमा टिमुरेदेखि घट्टेखोला हुँदै रसुवागढीसम्म सरसफाइ गरी फोहर व्यवस्थापन गरिएको हो ।

सवारी साधन तथा मानवको चापका कारण फोहर बढ्दै गएको र नेपालको ऐतिहासिकस्थल, चिनियाँलगायत अन्य देशका पर्यटकको आगमन हुने स्थलमा सदैव वातावरणको स्वच्छता कायम राख्न स्थानीयवासी, व्यापारीमा जागरणसमेत अभिवृद्धि गर्नुपर्ने देखिएको छ ।

यस्तै आफ्नो स्थापना दिवसका अवसरमा रसुवामा कार्यरत सशस्त्र प्रहरीका २ वटा गुल्ममध्ये २१ नं गुल्म टिमुरेले स्यामेवाङफेल मावि स्याफ्रुवेंशीमा र २० नं गुल्म धुञ्चेले हाइल्याण्ड आवासीय मावि धुञ्चेमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका छात्रछात्रालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्ध कार्यक्रम गरिएको सशस्त्र प्रहरी २० नं गुल्म धुञ्चेका गुल्मपति प्रहरी नायब उपरीक्षक मेघराज जोशीले बताए । गुल्मले धुञ्चेस्थित भगवती मन्दिर र आसपासका क्षेत्रको सरसफाइ सम्पन्न गरेको बताइएको छ ।

Loading...