मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

काठमाडौँ, १२ माघ । मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरिएकाे छ । राजधानीमा एक समाराेहकाे अायाेजना गरी उक्त पत्रिकाका  विमाेचन गरिएकाे छ । 

चलचित्र निर्देशक एवम् मुक्तककारहरू यादव खरेल तथा चेतन कार्कीको उपस्थितिमा एक विशेष कार्यक्रमका साथ मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिकाको  विमोचन गरिएकाे हाे । 

विमोचनमा समाराेहमा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पत्रिकाका संरक्षक रविन्द्रप्रसाद गिरि, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने वक्ताका रूपमा उपस्थित थिए । समारोहमा आधुनिक नेपाली मुक्तकका अगुवा मुक्तककार स्वर्गीय भीमदर्शन रोकाकी धर्मपत्नी श्रीमती मीना रोकालाई पुष्पमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सबैजसो वक्ताहरूले मुक्तक सागरको निरन्तरता, सफलता र स्तरीयताको लागि शुभकामना व्यक्त गरे । 

कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले अग्रज मुक्तककार भीमदर्शन रोकाकी धर्मपत्नीलाई सम्मान गरिनु अत्यन्त सकारात्मक काम भएको विचार व्यक्त गरे । त्यसैगरी साहित्यकार चेतन कार्कीले आफ्ना मुक्तकहरू समेत सुनाउँदै मुक्तकबारेको आफ्नो दृष्टिकोण सुनाए । डा. लक्ष्मण गौतमले मुक्तक पत्रिकाको अद्यावधि इतिहासबारे अाफ्नाे धारणा राखे ।

त्यसैगरी पत्रिकाका संरक्षक रविन्द्रप्रसाद गिरिले आफू साहित्यकार नभए पनि आफ्नी चेली प्रधानसम्पादक निशा केसीको उत्सुकता र आत्मविश्वास देखेर संरक्षकत्व ग्रहण गर्न पाएकोमा खुसी व्यक्त गरे । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले शुभकामना मन्तव्यसहित आफ्नो जोशिलो एउटा मुक्तक सुनाए ।

कार्यक्रममा सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राखेका थिए भने प्रकाशन नुरा बस्नेत, प्रधान सम्पादक निशा केसीले पत्रिकाको सन्दर्भमा बोलेका थिए । 

सल्लाहकार तथा मुक्तककार राजन सिलवालले सञ्चालन गरेकाे कार्यक्रममा डा. प्रदीप मैनाली, प्रकाश बस्नेत गफाडी र देवकी तिमल्सिना समीक्षाले आफ्ना दुई दुई वटा मुक्तकहरू वाचन गरेका थिए । साथै पत्रिकामा समावेश प्रतिनिधि केही मुक्तकहरू पनि प्रस्तुत गरिएको थियो ।

नेपाली साहित्यमा मुक्तक एक सशक्त र सर्वप्रिय विधाको रूपमा स्थापित हुँदै गइरहेको र मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले संस्थागत रूपमा प्रकाशनमा आएको मुक्तक सागरले स्तरीयतासँग कुनै सम्झौता नगरी स्वदेश र विदेशमा छरिएर रहेका मुक्तक स्रष्टाहरूलाई एउटा गतिलो मञ्च दिने, प्रकाशित मुक्तक कृतिहरूको चर्चा गर्ने र मुक्तकीय गतिविधिहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Loading...