सांसदमा खतरानाक नागरिकता विधेयक, अनअराइभल भिजा जस्तै डोकोमा नागरिकता बाँडिने खतरा

नागरिकता विधेयकबारे विज्ञहरुकाे धारणा

संघीय संसदमा नागरिकता नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रस्ताव गरिएको छ । यो विधेयकमा प्रस्ताव गरिएका धेरै प्रस्तावहरु राष्ट्रका लागि निकै खतरानाक छन् । यो विधेयक ल्याउनुको मूल उद्देश्य नै जन्मको आधारमा नागरिकता लिने बाबु आमाले नागरिकता लिनु भन्दा अगाडी नै जन्मिसकेका सन्तानलाई मात्र नागरिकता दिने उद्देश्यबाट ल्याइएको विज्ञहरुको भनाई छ । यहाँ विधेयकको अध्ययन गरेका विभिन्न विज्ञहरुको धारणा प्रस्तुत गरिएको छ ।

संविधान नै संशाेधन गर्नुपर्छ

डा. चन्द्रकान्त ज्ञवाली,संविधानविद्

शिर्ष नेता, शीर्ष नेतृ, विज्ञ र यताउताका दबाब हुँदै नेपालमा नागरिकता प्रकरण बल्झिदै आएको छ । कुरा गर्दा राष्टवादी हुने र व्यवहारमा जाँदा फस्ने रोगबाट मुक्त हुन सकेका छैनौं । राष्ट्रियताका विषयमा अदालत समेत बोल्न डराएको फेहरिस्त छन् । हामी संबिधान निर्माण देखी नै चुक्दै आएका छौं । दुई तिहाइ भएको यो बेला कुनै असजिलो छैन । जनस्तरबाट दबाब बढाएर भएपनि संविधान नै संशोधन गर्नुपर्ने बाध्यता रहेको छ । अहिले प्रस्तावित कानुनलाई संबिधानले नै उत्प्रेरित गरेको छ । नियत नराम्रो नभएपनि अदृश्य शक्तिहरूको दबाबले संविधानमै चुकिएको छ । सबैले महशुस गरौं र आवश्यक वातावरण तयार गराऔं ।

घरमा पर्खाल लाउनै पर्ने देशको सीमा त्यसै छाड्ने ? 

होमनाथ सेढाइ, सीमाविद्

भारतसँग सीमा जोडिएका २६ मध्ये २३ ठाउमा नेपालले गुमाएको छ । कानुनी रुपमा सीमा खुला नभनिए पनि खुला सीमाको मारमा पर्ने देशमध्ये नेपाल धेरै पीडित छ । नेपालको नागरिकताको यो कारणमा सीमालाई प्रमुख रुपमा बुझनुपर्दछ । तर देशको लागि भने साेंच्नै भ्याउँदैनौं ।

अनअराइभल नागरिकता बाँड्नै हुँदैन : 

लोकराज भुसाल, वाम अभियन्ता

गणतन्त्र आइसक्दा पनि शाषकहरूको स्वरुप परिवर्तन हुन नसक्नु दुःखद् भएको छ । भिषा जस्तै अनअराइभल पाराले नागरिकतालाई डोकोमा बोकेर बाँडिदा पनि हामी गम्भिर छैनांै । यस्तो गम्भीर विषयलाई हलुका ढंगले लिने हो भने बाम जनमत घट्ने र आन्दोलन कमजोर हुने निश्चित छ । यसअघिका मागपत्र सिरानीमा राखेर सुतिएको छ । अहिले गुण तिर्ने शर्तमा डिजाइन बमोजिम विधेयक आएको छ । दबाबमुलक आन्दोलन गरेरै भएपनि यसलाई रोक्नैपर्छ ।

हतारिनुमा खराब नियत प्रष्टै छ

प्रेमल कुमार खनाल, केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

राष्ट्रियतासँग नागरिकता सिधा जोडिएकोले विषय निकै पेचिलो बनेको छ । देश नै रहने हो की नरहने भन्ने तहमा पुगेको छ । भारतले गरेको नाकाबन्दि र मधेशी दलहरूको नियत प्रष्टै छ । २ नम्बर प्रदेश बनाउँदा नै हिमाल पहाड तराईको भाव जोड्न सकेनौं । राष्ट्रियता, जनतन्त्र र जनजीवीकालाई सुदृढ गर्न नसक्दै हामी अनावश्यक काममा हतारिएका छौं । मुलुकको यो स्थितिमा अंगिकृत नागरिकतालाई सस्तो व्यापारको विषय बनाएर राष्ट्रघातको बाटोमा जान खोजेको देखिन्छ । अहिले नै हतारिनुको कारण र नियत प्रष्टै छ । कुनै हालतमा पास हुन दिनु हुँदैन ।

कतिन्जेल सहने दक्षिणको रबैया ?

रामबहादुर भण्डारी, उपाध्यक्ष, पुष्पलाल अध्ययन समाज

अहिले देश साँच्चिकै संगीन घडीमा पुगेको छ । बामपन्थिको नाउँमा दुई तिहाइको सरकार चलेका बेला यस्तो विधेयकमा हतारिनु बिडम्बना नै हो । देश र आफू भए मात्र विचार र गतिबिधि हुने न हो । दक्षिणको रबैया निकै सघन बनेको छ । कानुनी रुपमा बोर्डर शिल नखुलेको देशले पाएको यस्तो सास्ती र चुनौती जसरी पनि पार गर्नैपर्छ । र यो विधेयक पास हुनबाट रोक्नुपर्छ ।

नेताहरू बोक्सी, कार्यकर्ता झाँक्री

लोकनारायण सुबेदी, वरिष्ठ उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी

परिस्थिति हेर्दा नेताहरू बोक्सी र कार्यकर्ता झाँक्री जस्तो देखियो । तथापि नागरिकता सम्बन्धि आन्दोलन सही दिशामा जारी रहनुपर्दछ । सत्तामा बसेर नागरिकता जथाभावि बेच्ने तथा गैरनागरिकलाई नागरिकता दिने र त्यसो गर्ने नीति बनाउने राष्ट्रघाती विधेयक प्रस्तुत गर्ने जोकोही विरुद्ध राष्ट्रघातको मुद्दा लगाइनु पर्दछ । यसका लागि उच्चस्तरीय अधिकार सम्पन्न नागरिकता छानबिन तथा कारबाही आयोग गठन गरिनु पर्दछ ।

टेस्टको थलो बनाइँदैछ देश

सुरेश कार्की, वाम नेता

नेपाल भुटानीकरण बाहेक पनि हरेक टेष्टको थलो बनेको तर्फ चिन्तित हुन जरुरी छ । पर्दा पछाडि देश रोइरहेको छ लाग्छ सुन्ने फुर्सदै छैन । र सँगसँगै अस्वभाविक खिचडी पाकिरहेकोतर्फ पनि ध्यान पुयाउन सकिएको छैन । यस्तो विधेयक पास गरेर राष्ट्रघात हुन नदिन सबै देशभक्तहरू जागरुक हुनै पर्दछ ।

गलत नियत बोकेको विधेयक फिर्ता गरिनुपर्छ

डा. कृष्ण अर्याल (नर्वे), अध्यक्ष, नेपाली जनप्रगतिशील मंच यूरोप

अहिले नागरिकता विधेयक शंसोधनको कुरो उठिरहेको छ । यसलाई रोक्ने विषयमा राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका पक्षधर हुँ भन्ने सच्चा देशभक्त र वामपन्थीहरूले उठाएको आवाजमा ऐक्यबद्धता प्रकट गर्दछु । अहिलेको संसोधन गलत नियत सहित गलत विश्लेषणको आधारमा आएकोले फिर्ता गरिनुपर्छ ।

भारतीयको विषयमा छुट्टै प्रावधान हुनुपर्छ

कौशल्या ओझा

अधिवक्ता नागरिकता विषय गहन र संवेदनशील हो । यो विषयमा महिला मात्र बढि जोड्न जरुरी छैन । सन्तान उत्पादन महिलासँग जोडिने भएकाले यस्ता विषय आएपनि नियन्त्रणमुखी नागरिकताका नाममा लिङ्गीय विभेद गरिनु हुँदैन् । निश्चय पनि सीमाका कारण, हाम्रा सन्धि संझौताका कारण र भारतसँग धेरै कुरामा चुकेको कारण समस्या बढि त्यता जोडिएको छ । त्यसकारण पनि भारतसँगको विषयमा छुट्टै प्रावधान राख्न जरुरी छ ।

हाम्रो चिन्ता पनि नेपाल जोगाउने नै हो

सुरेन्द्र श्रेष्ठ (बेलायत) सल्लाहकार, एनआरएनए

सदस्य, नेपाली नागरिकता निरन्तरता कार्यदलतपार्ईहरूको विषय उठान असाध्यै सामयिक र मार्मिक छ । हामी एनआरएनको यस सम्बन्धि प्रयास आफ्ना ठाउँमा छन् तर पछिल्लो विधेयकको नियत हेर्दा अन्ततः नेपाल नै नहुने हो की भन्ने आशंका सम्मको रहेछ । हाम्रोे विषयलाई राज्यले हलुका लिएकोमा दुःखी त थियौं तर पछिल्लो नियतले हामीलाई पनि झस्काएको छ ।
हामी एनआरएनएको चाहना मुख्य के थियो भने नेपाली नागरिकता लिइसकेकालाई नागरिकताको निरन्तरता देउ । पुरानालाई निरन्तरता दिँदा नयाँ मान्छे थुप्रिन्छ भन्ने कुरोमा कुनै तर्क छैन । विदेशमा बस्ने नेपालीले आफ्नो देश र माटोलाई कति माया गर्छन् भन्ने कुरा राजनैतिक र प्रशासनिक क्षेत्रमा रहेका प्रायलाई थाहा छ । बिभिन्न कारणले विदेश रहेका नेपालीले आफ्नो देशलाई झन बढी माया गरेका छौं । बरु नेपालको नाउँ भजाएर नेतृत्व गरेको भन्ने कतिपय व्यक्तिले देशघात गरेको समाचार आइरहेको छ । राज्य वा नेतृत्वले बुझ्ने हो भने विदेशमा रहेका नेपालीले नेपाल कमजोर बनाउने पक्षमा कहिल्यै मतदान गर्दैनन् । अहिले विधेयक शसोधन गराएर खराब नियतलाई मलजल गर्ने हो भने कथित जनमत संग्रहका नाउँमा देशको अस्तित्व नै धरापमा पर्ने जोखिम हुन सक्छ । नेपाल बचाउनका लागि पनि एनआरएनएहरूको अपनत्व बलियो सँग जोड्न जरुरी छ ।

राष्ट्रिय नीति नै बन्नुपर्छ

नीमकान्त पाण्डे वरिष्ठ पत्रकार

नागरिकता र राष्ट्रियताको बिषयको उठान धेरै सान्दर्भिक छ । नागरिकता नीतिमा दलहरू चुकेका छन । नेपाल जस्तो भौगोलिक अवस्था रहेको देशले नागरिकता नीतिमा गम्भिर बन्नु जरुरी छ । बिदेशी नागरिकहरूले नेपालको नागरिकता पाउने सवालमा लचिलो बन्नु देशको लागि हानिकारक हुनेछ । समयमै दलहरूले गम्भिरतापूर्वक छलफल गरी नागरिकताबारे राष्ट्रिय नीति बनाउन जरुरी छ ।

फिजी हुनबाट रोक्नैपर्छ

पूर्णचन्द्र डुम्रे, युएई

लोकतन्त्र, गणतन्त्र आइसक्दा पनि मुलुक बलियो हुन नसक्नु दुर्भाग्य हो । हामीले हाम्रो देशको स्वतन्त्रता, सार्वभौमिकता र राट्रिय अखण्डताको भजन निकै गायौं । तर, राष्ट्रियताका विषयमा चिप्लिदै पनि आएका छौं । नागरिकता र राष्ट्रियता सिधै जोडिने भएकोले यसमा संवेदनशील हुनुपर्ने हो । दुईवटा विशाल छिमेकी भएको र दक्षिणको छिमेकीको नियत त्यति राम्रो नभएको स्थितिमा खुकुलो बनाउन हुँदैन् । फिजी बनाउनबाट रोक्नैपर्छ ।

Loading...