नेपालद्वारा यूएइ १४५ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ ।

नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा आयो । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखाए । पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवरको विकेट लिएका उनले छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाए ।

पाँचौं विकेटका लागि यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले उनीहरुको साझेदारी मात्र तोड्नन्, एकै ओभरमा तीन विकेट लिँदै नेपाललाई जिततर्फ डोहोर्‍याए ।

१९ औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए भने अर्को ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिँदै खेल टुंग्याए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमारको रेकर्डस्ँगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनाएको थियो ।नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

भण्डारी २१, मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ, ८ र पारस खड्का २१ रनमा आउट भए । कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे ।

शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । ५५ रन बनाएर पभेलियन फर्किएका उनी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बने । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका छन् ।

यसैगरी करण केसीले १० बलमा १८ रन बनाए । सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।

Loading...