फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल सजाय

काठमाडौं । फेसबुकमा गाली गरेर स्टाटस लेखेको भन्दै एक पत्रकारले एक वर्षको जेल सजाय पाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले ती पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको हो ।

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् ।

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङ्खेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन ल) सजाय अन्तर्गत एक वर्षको जेल सजाय गरिएको हो ।

उक्त कानूनी प्रावधानअनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुव्र्यवहार वा गालीगलौज गरेमा अदालती सुनुवाइ बिना नै एक वर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ ।

उनान्चालीस वर्षीय टेलिभिजन पत्रकार वाङ्खेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृश्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ । पोष्टमा पत्रकार वाङखेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोष्ट गरेका बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोष्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टर हिन्दूवादी राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेको बताएका छन् ।

अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले भएको जनाएका छन् । उहाँलाई यस पहिले राजद्रोह गरेको आरोपमा पक्राउ गरे पनि स्थानीय अदालतद्वारा धरौटीमा रिहा गर्न गरेको आदेशपछि रिहा हुनुभएको थियो । एउटा गल्ती गरेर धरौटीमा रिहा भएपछि यसबाट उनी थप उत्तेजित बनेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

भारतमा गत महिना पहिले एक जना शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भन्दै गाली गरेपछि छिमेकी राज्य आसाममा उनलाई पक्राउ गरिएको थियो ।

Loading...