चीनकाे सबैभन्दा धनी गाउँ जहाँ पत्रकारलार्इ जान पूरै राेक छ

एजेन्सी । ७२ तले गगनचुम्बी भवन, हेलिकोप्टर ट्याक्सी, थेम पार्क र क्रमबद्ध रूपमा निर्माण गरिएका सुविधासम्पन्न भिल्ला । यो हो पूर्वी चीनको हुअक्सी गाउँ । जियाङसु प्रान्तमा रहेको यो गाउँ चीनकै सबैभन्दा धनी गाँउ हो । गाउँमा दुई हजार बासिन्दा छन् । सबैको बैंक खातामा १० लाख चिनियाँ युयान छ । हरेक परिवारलाई एउटा सुविधासम्पन्न कार र भिल्ला दिइएको छ । तर, भिल्ला छाड्नेबित्तिकै आफ्नो सम्पूर्ण स्वामित्व त्याग्नुपर्छ ।

कठोर समाजवादी प्रणालीमा आधारित हुअक्सीले गत महिना ५५औँ वार्षिकी मनाएको थियो । जियाङसु प्रान्तको जियाङयिन सहरले गाउँको प्रशासन चलाउँछ । जियाङसु एउटा तटीय प्रान्त हो । हुअक्सी चीनको आर्थिक पावरहाउस सांघाईबाट दुई घन्टामा पुगिन्छ । कम्युनिस्ट शासनअन्तर्गत एउटा गरिब गाउँ आधा शताब्दीभित्रै कसरी देशकै सबैभन्दा धनी गाउँमा रूपान्तरण भएको छ भन्ने उदाहरण हुअक्सी हो । चिनियाँ अधिकारी पनि यस गाउँको बारम्बार उदाहरण दिन्छन् ।

एक नम्बरको गाउँ
हुअक्सीको प्रवेशद्वारमा एउटा ठूलो साइनबोर्ड छ जसमा लेखिएको छ, ‘आकाशमुनिको एक नम्बर गाउँ’ चीनभर यो गाउँ ‘एक नम्बरको गाउँ’ भनेर चिनिन्छ । सन् २००३ मा गाउँका बासिन्दाको वार्षिक आय सय अर्ब पुग्दा आम चिनियाँको ध्यान सो गाउँमा तानिएको थियो । सन् २००४ मा हुअक्सीले आफ्ना बासिन्दाको वार्षिक आय एक लाख २२ हजार ६ सय यान भएको घोषणा गरेको थियो । सो आय चीनको एउटा किसानको औसत आयभन्दा ४० गुणा बढी हो ।

गगनचुम्बी महल
आफ्नो आर्थिक शक्ति देखाउन सन् २०११ मा गाउँले तीन अर्ब युयानमा एउटा गगनचुम्बी महल बनाएको छ । ७२ तले सो भवन पेरिसको इफेल टावरभन्दा चार मिटर (३२८ मिटर) अग्लो छ । त्यस्तै, न्युयोर्कको क्राइस्लर भवनभन्दा तीन सय १९ मिटर लामो छ । ‘टावरभित्र सुपर फाइभ स्टार’ लंग विस इन्टरनेसनल होटेल छ । आठ सय २६ ओटा कोठा भएको सो महल चिनियाँ संस्कृति र सभ्यताको धरोहरसमेत बनेको छ ।

सम्पन्न गाउँ
गाउँको आफ्नै आरामदायी हेलिकोप्टर छ । यस हेलिकोप्टरबाट यहाँका मानिस ओहोरदोहोर गर्छन् । उदाहरणीय यस गाउँमा एउटा थेम पार्क छ जसमा ग्रेटवाल र फरविडन सिटको नक्कल गरिएका स्मारक बनाइएको छ । यसबाहेक गाउँमा एउटा संग्रहालय छ, जसमा आठ सय प्राचीन अवशेष छन् । अवशेषले चीनको उच्च संग्रहालयको झल्को दिन्छ ।

सञ्चारकर्मी प्रवेशमा कडाइ
हुअक्सी एउटा सामान्य गाउँबाट कसरी आकर्षक सहरमा परिणत भयो भन्ने अझै रहस्यमय छ । सञ्चार माध्यमलाई सो क्षेत्रभित्र प्रवेश गर्न कडाइ छ । स्थानीय अधिकारीको अनुमति लिएमात्र पत्रकार सो गाउँमा जान पाउँछन् । चिनियाँ सरकारी सञ्चार माध्यम पिपुल्स डेली र सिन्ह्वा न्युज एजेन्सीले हुअक्सीलाई नमुना समाजवादी गाउँका रूपमा चित्रण गर्छन् ।

पूर्वसचिवको देन
गाउँलाई परिवर्तन गर्नमा सो गाउँका चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वसचिव वु रेनबाओको देन रहेको बताउँछन् । वुको इमान्दारी र आधुनिक नेतृत्वले हुअक्सीलाई समृद्धितर्फ पु-याएको सरकारी सञ्चार माध्यमको भनाइ छ ।

सन् २०१४ मा प्रकाशित आर्थिक रणनीति र आधुनिक चीनको प्रयास नामक पुस्तकमा हुअक्सीको रहस्यमय सामाजिक प्रणालीबारे उल्लेख गरिएको छ । चीनको कुख्यात सांस्कृतिक क्रान्तिपछि गाउँको नेतृत्वले त्यहाँका बासिन्दालाई अनिवार्य रूपमा खेतीपाती र निर्माण क्षेत्रमा लगाइएको थियो ।

कर्पोरेट हाउस
सन् १९९४ मा हुअक्सी एउटा कर्पोरेट हाउसका रूपमा विकसित भएको सो पुस्तकमा उल्लेख छ । गाउँमा स्टिल, पाइप, टेक्सटाइल र लुगाको उत्पादन सुरु भएको थियो । गाउँको सम्पत्तिलाई गाउँकै नेताले व्यवस्थापन र नियन्त्रण गर्छन् । गाउँलेहरू अर्को ठाँउमा बस्न गएमा सो सम्पत्ति लैजान पाउँदैनन् ।

हुअक्सीको आर्थिक र सामाजिक प्रणालीले विवाद पनि ल्याएको छ । गाउँलाई कम्युनिस्ट पार्टीले प्रोपोगान्डाको औजार बनाएको केही सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।

Loading...