विश्वकप फुटबल: शुक्रबारबाट सुरु हुने क्वार्टर फाइनलमा को-कोसँग भिड्दैछन्

रसिया ।

रसियामा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो।

क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ।

प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले हराएर फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो भने उरूग्वेले क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई २-१ गोलले हराएको थियो।

त्यही दिनको दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ। प्रिक्वार्टर फाइनलमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो भने बेल्जियमले एसियाली टोली जापानलाई पाखा लगाएको थियो।

शनिबारको पहिलो खेल १९६६ को विश्वविजेता इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ। इंग्ल्याण्ड टाइब्रेकरमा कोलम्बियालाई हराएर क्वार्टर फाइनल पुगेको हो भने स्विडेनले स्विट्जरल्याण्डलाई १-० ले हराएको थियो।

क्वार्टर फाइनलको अन्तिम खेल आयोजक रसिया र क्रोएशियाबीच हुनेछ। रसियाले २०१०को विश्वविजेता स्पेनलाई टाइब्रेकरमा स्तब्ध पारेर क्वार्टर फाइनल पुगेको थियो भने क्रोएशियाले डेनमार्कलाई हराएको थियो।

२०७५ असार २० मा प्रकाशित ।

Loading...