मुख्यमन्त्री शेरधन राई विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता

बिराटनगर, १२ पुस । बागमती प्रदेशपछि प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि प्रदेश सरकारमा समस्या परेको छ ।

यसैक्रममा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपाबाट निर्वाचित भएका प्रदेश १ का ३७ सांसदहरुले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।

प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

Loading...