मागे जति पैसा नदिएकै कारण गाैचनकाे हत्या 

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्या मागेजति पैसा नदिएका कारण भएकाे खुलेकाे छ । हत्यामा सम्लग्न व्यक्तिहरु पक्राउ परेपछि प्रहरीले यसका सबै विवरण सार्वजनिक गरेकाे छ । 

गाैचनकाे हत्यामा सम्लग्न सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । देशबाहिरबाटै उनले हत्याको नेतृत्व गरेका थिए । बुटवलका मनोज पुन पनि एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार छन् । पुनले पनि गाैचनकाे हत्यामा सहयाेग गरेकाे प्रहरीले जनाएकाे छ । 

समिरमानले मागेजति फिरौती नदिएकै कारण गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । तर, कति रकम मागेका थिए भन्ने केही खुलाइएको छैन ।

हत्याको योजना बनाएपछि उनीहरुले झण्डै एक महिनादेखि गौचनको निगरानी गरेको खुलेको छ । हत्यामा प्रयोग भएको मोटरसाइकल भने भारतबाट चोरर ल्याइएको थियो र नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो । पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ ।

यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थपनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।

हत्यामा संलग्न समिरमान र मनोजसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । उनीहरुको खोजी भइरहेको छ । गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

Loading...