बाढीमा परेर ‘मयूरे’ केटाको मृत्यु

चितवन, ८ असोज । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षित दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटो) मरेको छ ।

बाढीका कारण रोग लागेर मयूरे नामको गैँडाको केटो मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । गत साउन २८ गतेको बाढीमा डुबेपछि रोग लागेर मयूरे मरेको उनले बताए ।

“बाढीले बगाएर आमा र छोरा छुट्टाछुट्टै स्थानमा पुगेका थिए, मयुरेलाई बेवारिसे अवस्थामा नारायणी किनारमा फेला पारेका हौँ,” पाठकले भने । उद्धार गरी मयुरेलाई सौराहामा राखिएको थियो ।

“बाढीपछि एक्कासि रोग देखियो, बचाउन सकिएन,” चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले भने । उनका अनुसार शवपरीक्षण गर्दा उसको आन्द्रामा खराबी भएको पाइएको थियो । नवलपरासीको अमलटारीको मयूरे वनस्थित नदी किनारमा फेला पारिएको हुँदा नाम मयूरे रहन गएको हो । बाढीका कारण यसअघि दुईवटा गैँडा मरिसकेको छ ।

Loading...