गत शनिबार राष्ट्रिय जनकंग्रेसको उद्घाटन गर्दै प्रधानमन्त्री ली खस्याङले चीनको आगामी वर्षको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतमा रहने बताए, जुन यो दशककै न्यून हो । दुई वर्षअघि मात्र उनले सात प्रतिशत सबैभन्दा कम स्विकारयोग्य हुने बताएका थिए । उनी आफ्नै बचनमा अडिन सकेनन् । वास्तवमा उनी धेरै कुरामा प्रभावी रहन छाडे ।
जो व्यक्ति सारा विषयवस्तुको निर्णय लिइरहेको छ उनी हुन् राष्ट्रपति सी जिनपिङ । सी बिस्तारै देङ सियाओ पिङपछि पहिलो एकल–नेतृत्वको सत्तातिर बढिरहेका छन् । पछिल्लो दशकमा अभ्यास गरिएको ‘सामूहिक नेतृत्व’ कथाजस्तो बनेको छ र सीको व्यक्तित्वको राज्य–नियन्त्रित सञ्चार–माध्यममा खुबै प्रवर्तन गरिएको छ ।
सीले चिनियाँ कम्युनिस्ट पार्टीभित्रको दुई ठूला पक्षबीचको युद्धविराम भत्काइदिएका छन् । उनका बुबा क्रान्तिकारी कम्युनिस्ट हिरो थिए, जो उपप्रधानमन्त्रीसम्म भए । सीको केन्द्रीकृत र अधिनायकवादी शैलीले विशेषाधिकार प्राप्त नश्लको प्रतिनिधित्व गर्छ ।
ली खस्याङजस्ता लोकप्रियतावादीहरू समुद्रीकिनारका समृद्ध सहरभन्दा भित्री मूलत: गरिब क्षेत्रबाट आएका हुन् । यिनीहरू सम्पर्कको विशेषाधिकारभन्दा आफ्नै बुतामा प्रभावशाली भएका हुन् । र, यिनीहरू किसान, आप्रवासी कामदार तथा सहरी गरिबजस्ता कमजोर सामाजिक समूहका आवश्यकतासँग बढी सचेत छन् । धेरैजस्तो यस्ता नेता चिनियाँ युवा लिगबाट आएका हुन् ।
सन् १९८९ मा कम्युनिस्ट पार्टीलाई चुनौती दिने गरी भएको प्रदर्शनबाट आतंकित भएपछि, यी दुई पक्षले सावधानीपूर्वक सत्ता साझेदारी गरेका छन् र सार्वजनिक रूपमा एक–अर्कालाई आक्रमण गरेका छैनन् । तर, अहिले आएर सीले सञ्चार–माध्यममा चिनियाँ कम्युनिस्ट लिगको ‘मानसिकता’ माथि खुला आक्रमण गर्दै त्यो अनाक्रमण सम्झौता तोडेका छन् ।
यी दुई पक्षबीचको घर्षण यति धेरै बढ्नुमा चिनियाँ अर्थतन्त्र संकटतिर धकेलिनुले पनि हो । यो संकटलाई टार्न कुनै पक्षसँग पनि विश्वासिलो रणनीति छैन तर दुवै पक्ष अर्को पक्षको राजनीतिक शैलीले विषयवस्तु झन् जटिल बनाउँछ भन्ने ठान्छन् ।
वास्तवमा चीनको वृद्धिदर सात वर्षअघि नै धराशयी भएको थियो, तर अहिलेसम्म यो ऋणले धानेको लगानीले छोपिएको थियो । जब २००८ को आर्थिक संकटपछि विश्वका धेरैजसो देश गहिरो संकटमा धकेलिए, चिनियाँ सत्ताले कुल गार्हस्थ उत्पादनको ५० प्रतिशतसम्म पूर्वाधारमा लगानी गरेर कृत्रिम रूपमा वृद्धिदर कायम राख्यो ।
त्यसपछिका पाँच वर्षमा चीनले हरेक पाँच दिनमा एउटा गगनचुम्बी भवन बनायो । उसले यसबीचमा ३० नयाँ विमानस्थल, २५ सहरमा सब–वे प्रणाली, विश्वकै तीनवटा लामा पुल, १० हजार किलोमिटरभन्दा लामो तीव्र गतिको रेलवे लाइन र ४० हजार किलोमिटर ‘फ्रिवे’ हरू बनायो । हजारौँ, लाखौँ अग्ला आवासीय टावरहरू सबैजसो सहरमा निर्माण गरिए ।
तर, धेरै ‘फ्रिवे’ जस्तै यस्ता नयाँ टावर लगभग खाली छन् । यस्ता लगानीले तत्काल रोजगारी सिर्जना त गर्छन् तर धेरै वर्षसम्म लगानीको प्रतिफल दिन्न ।
यी सबै लगानी कुल गार्हस्थ उत्पादनको आँकडामा गणना गरिएको छ, तर आधाजति वा त्यसभन्दा पनि बढी खराब ऋण हो, जुन फिर्ता हुनेछैन । त्यसमध्ये आधा मात्र पनि खराब ऋण छ भने बितेका पाँच वर्षमा चीनको कुल गार्हस्थ उत्पादनको वृद्धिदर करिब दुई प्रतिशतवरिपरि हुन्छ, ७–८ प्रतिशत होइन ।
धेरैभन्दा धेरै पैसा छापेर यो संकटलाई केही समय त छोप्न सकिन्छ । तर, यसले चीनको मुद्रा, युआनलाई दबाब दिइरहेको छ, जुन अहिले १५–२० प्रतिशतले अधिमूल्यन भएको छ । अवमूल्यनले चीनको निर्यातलाई अस्थायी रूपमा बढाउन त सक्छ तर यसले अन्तर्राष्ट्रिय व्यापार युद्ध निम्त्याउन पनि सक्छ, जसले सबैको अर्थतन्त्रलाई तलतिर झार्नेछ ।
राष्ट्रपति सीसँग यो संकट समाधान गर्न आफ्ना प्रतिद्वन्द्वीभन्दा उत्तम रणनीति भएको कुनै प्रमाण छैन, तर आँधी निश्चित रूपमा आइपुग्न आँटेको छ र उनी त्यसको सामना गर्ने तयारी गरिरहेका छन् ।
सीको दृष्टिकोणमा, त्यसका लागि सम्पूर्ण शक्ति हातमा लिनुपर्छ र व्यक्तित्वको भरपूर प्रवर्तन गर्नुपर्छ, जुन माओ त्से तुङको निधनपछि देखिएको छैन । सी निश्चय पनि माओजस्तै अहंकारवादी त होइनन्, तर नजिकिँदो आँधीबाट जहाजलाई जोगाउन सम्पूर्ण नियन्त्रण आवश्यक पर्नेछ भन्नेमा उनी प्रस्ट देखिन्छन् ।