बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित बिपी राजमार्गमा शनिबार मोटरसाइकल र नीलगाई एकापसमा ठोक्किँदा मोटरसाइकल चालक र नीलगाई दुवैको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकल र जङ्गली क्षेत्रमा सडक पार गर्दै गरेको नीलगाई ठक्कर खाएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका जनकपुरधाम उपमहानगरपालिका–१ निवासी ३२ वर्षीय चालक विनयकुमार साहलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार धनुषाको हंसपुर नगरपालिका–३ निवासी ४० वर्षीय रवीन्द्र साह घाइते भएका छन्। उहाँको दाहिने खुट्टा भाँचिएको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
।







