बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि विवाद भएको छ।
सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालले भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिएका हुन् ।
स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको उनले बताए ।
उनका अनुसार भारतीय पक्षले सुरुदेखि नै बाँध निर्माणको काम गर्न नदिएको १३२ मिटर क्षेत्रमा नेपाली पक्षले सहमतिअनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो । तर, आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उनको भनाइ छ ।
भारतीय सुरक्षाकर्मीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीयवासीले बताएका छन्। नेपालतर्फ निर्माण भइरहेको बाँध भत्काइएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएको जैसवालले बताए।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न राखिएको माटोको अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गरे। उनले विवाद साम्य पार्न सशस्त्र प्रहरी बल परिचालन गरिएको र अहिले अवस्था सामान्य रहेको बताए ।







