इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले काम सुरु गर्ने बताएको छ ।
इराकी प्रधानमन्त्री अली अल–जैदीले सामाजिक सञ्जाल ‘एक्स’ मा दुवै देशले तेल, विद्युत्, जलस्रोतलगायत आपसी हितका क्षेत्र समेटिएको विस्तृत सहकार्यको ढाँचा तयार गर्ने प्रक्रियालाई अघि बढाउने बताएको छ ।
टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्पार्सलान बायराक्तारले सेहान बन्दरगाह हुँदै विश्व बजारमा इराकी तेल पुर्याउने पाइपलाइन क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षाका दृष्टिले रणनीतिक महत्वको रहेको बताए ।
सेहानमार्फत इराकी तेल निर्यातसम्बन्धी दशकौँ पुरानो सम्झौताको अवधि सोमबार सकिएपछि नयाँ सम्झौता गरिएको हो । ‘स्टे«ट अफ होर्मुज’मा बढ्दो क्षेत्रीय तनावले ढुवानीमा असर पार्न सक्ने अवस्थाबीच इराकले तेल निर्यातका वैकल्पिक मार्ग सुरक्षित गर्ने प्रयास गरिरहेको छ ।
कच्चा तेल निर्यात इराकको अर्थतन्त्रको प्रमुख आधार हो । तेलबाट हुने आम्दानीले देशको कुल राजस्वको करिब ९० प्रतिशत हिस्सा ओगट्ने गर्छ ।







