स्याङ्जा। घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रमलाई निरन्तरता दिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मापदण्ड पूरा गरेका १७ परिवारले यस कार्यक्रमअन्तर्गत अनुदान प्राप्त गरेका छन्।
गाउँपालिकाले ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ अनुसार योग्य परिवारलाई तेस्रो सन्तान जन्मिएपछि दुई वर्षसम्म मासिक ४ हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको जनाएको छ। हाल पहिलो चरणमा १७ परिवारलाई जनही ४ हजार रुपैयाँ वितरण गरिएको हो।
कार्यवाहक अध्यक्ष सावित्रा कोइरालाका अनुसार कार्यक्रमको उद्देश्य परिवारमा सन्तानप्रति सकारात्मक दृष्टिकोण विकास गर्नु, घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउनु र पोषणमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो। पछिल्ला वर्षहरूमा जन्मदर लगातार घट्दै गएपछि स्थानीय तहले यस्तो नीति अघि सारेको उनले बताइन्।
कार्यविधिअनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने र २०८२ साल साउनपछि तेस्रो सन्तान जन्माएका परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदनका लागि आमा–बुबाको नागरिकता, तीनै सन्तानको जन्मदर्ता, विवाहदर्ता प्रमाणपत्र, तेस्रो सन्तान नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको प्रमाण तथा गाउँपालिकाको स्थायी बासिन्दा भएको कागजात अनिवार्य गरिएको छ।
स्थानीय सरकारले जनसंख्या सन्तुलन कायम राख्दै मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन, परिवारलाई प्रोत्साहन र दीर्घकालीन जनसांख्यिक सन्तुलन कायम गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाको दाबीअनुसार यस्तो प्रकृतिको योजना स्याङ्जा जिल्लामै पहिलो र फरक अभ्यासका रूपमा हेरिएको छ।







