आज हरिशयनी एकादशी, यस्तो छ महत्त्व

काठमाडौं । प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजा गर्ने परम्परा आजदेखि सुरु भएको छ ।

यस दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ। सनातन वैदिक परम्पराअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा जाने र कार्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन जागृत हुने विश्वास छ। यही चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ।

किन गरिन्छ तुलसीको पूजा ?
हिन्दु धर्ममा तुलसीलाई भगवान् विष्णुको अति प्रिय तथा लक्ष्मीस्वरूप मानिन्छ। तुलसी रहेको घरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा रहने धार्मिक विश्वास छ। त्यसैले असार शुक्ल एकादशीका दिन तुलसीको बिरुवा मोठमा सारेर दैनिक पूजा, दीप, जल र नैवेद्य अर्पण गर्ने चलन छ।

वैज्ञानिक महत्त्व

धार्मिक मान्यतासँगै तुलसीको वैज्ञानिक महत्त्व पनि उत्तिकै छ। तुलसीमा औषधीय गुण प्रशस्त पाइन्छ। यसले वातावरण शुद्ध बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा विभिन्न रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्यामा उपयोगी हुने आयुर्वेदमा उल्लेख छ।

तुलसीको पौराणिक कथा
पुराणका अनुसार वृन्दा नामकी पतिव्रता स्त्री दैत्यराज जलन्धरकी पत्नी थिइन्। वृन्दाको अटल पतिव्रत धर्मकै प्रभावले जलन्धरलाई कुनै देवताले पराजित गर्न सकेका थिएनन्। देवताहरूको आग्रहपछि भगवान् विष्णुले जलन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत भंग गराइदिए।

त्यसपछि भगवान् शिवले जलन्धरको वध गर्न सफल भए। आफूमाथि छल भएको थाहा पाएपछि वृन्दाले भगवान् विष्णुलाई ढुङ्गा (शालिग्राम) हुने श्राप दिइन्। त्यसपछि वृन्दाले योगाग्निमा देह त्याग गरिन्। वृन्दाको तपस्या र भक्तिबाट प्रसन्न भएका विष्णुले उनलाई तुलसीका रूपमा अमर बनाइदिए र “तिमीबिना मेरो पूजा पूर्ण हुँदैन” भन्ने वरदान दिए। त्यसै कारण विष्णु र कृष्णको पूजामा तुलसीको पात अनिवार्य मानिन्छ।

हरिशयनी एकादशीको महत्त्व
हरिशयनी एकादशीका दिन भक्तजनले व्रत बसेर भगवान् विष्णुको पूजा गर्छन्। देशभरका विष्णु तथा नारायण मन्दिरमा दर्शन गर्ने, चामलबाट बनेका परिकार त्यागेर फलाहार गर्ने र तुलसीको पूजा गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक व्रत र पूजा गरेमा पाप नष्ट भई सुख, शान्ति र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ।