मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शुक्रबार बिहान पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घरमा भाडामा बसेर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेर घर पुरिएको थियो।
पहिरोमा पुरिएकालाई प्रहरी र स्थानीयवासीले तत्काल उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याएका थिए। तर उपचारकै क्रममा बिहान करिब ५ः४५ बजे चिकित्सकले बालक रमेशलाई मृत घोषणा गरे । घाइते भएका जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीको भनाइ छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
करिब २०० मिटर माथिबाट खसेको पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि आसपासका थप आठ घर उच्च जोखिममा परेकाले त्यहाँ बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबीराज थपलियाले जानकारी दिएका छन् ।







