विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेकी छन्।
शुक्रबार दिउँसो ४ बजेदेखि घरबाट हराएकी उनको शव साँझ घरदेखि करिब २ सय मिटर पूर्वतर्फ रहेको बारीमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
कायानत स्थानीय जफारुल मियाँकी छोरी हुन् । उनी अपराह्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। खोजीका क्रममा साँझ करिब साढे ७ बजे उनको शव बारीमा फेला परेको थियो ।
मोरङ प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा थिएन भने तल्लो भागमा कपडा लगाएकै अवस्थामा थियो। प्रहरीका अनुसार बालिका घरबाट हराउँदा पनि माथिल्लो भागमा कपडा नलगाएको जानकारी प्राप्त भएको छ।
घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनालाई शंकास्पद मानेर हत्या भएको कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान सहज हुने बताइएको छ ।







