आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।

बिहीबार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरेहको छ। गोरखाको आरूघाटमा पछिल्लो एक घन्टामै १९ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो चौबीस घन्टामा ताप्लेजुङको तापेथोकमा ८१ मिलिमिटर, नवलपुरको कोलुवामा ७०.६ मिलिमिटर, सुर्खेतको गोथीकान्डमा ६७ मिलिमिटर, डोटीको कोलागाउँमा ५१ मिलिमिटर वर्षा भएको छ।

अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। बुधबार दिउँसो देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली भू-भाग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपात हुने पूर्वानुमान छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश, कोशी र बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।