एजेन्सी । भारतको मध्यप्रदेशको एउटा सानो गाउँमा जन्मिएकी अवनी चतुर्वेदीले सपनामा पनि चिताएकी थिइनन् कि कुनै दिन एक्लै लडाकु विमान उडाउँछृु भनेर । तर उनले नचिताएको कुरा पुगेको छ ।
२४ वर्षीया अवनी एक्लै लडाकु विमान उडाउने पहिलो भारतीय महिला बनेकी छन् । गत सोमबार दिउँसो उनले एमआईजी–२१ बाइसन विमानको ३० मिनेट एकल उडान गरेकी थिइन् । अहिले उनी भारतीय मिडिया र सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेकी छन् ।
गुजरातको जामनगर हवाई अड्डाबाट उनले पहिलो उडान भरिन् र फाइटर पाइलट बन्न सफल भइन् । यो कामका लागि सन् २०१६ मा अवानीको साथमा भावना कान्त र मोहना सिंहलाई पनि छनोट गरिएको थियो । उनीहरु तीनै जनालाई एक वर्षसम्म फाइटर पाइलटको तालिम दिइएको थियो ।
२०१६ भन्दा अगाडि भारतीय वायुसेनामा महिलाहरुलाई फाइटर प्लेन चलाउने अनुमति थिएन । अनुमति दिइएको दुई वर्षमै अवनीले इतिहास रच्न सफल भइन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, अवनीको ब्याचपछि पनि वायु सेनाले थप तीनजना पाइलटलाई लडाकु विमान उडाउने तालिम दिन छनोट गरेको छ ।
अवनीको बाल्यकाल मध्यप्रदेशको रिवा नजिकको एउटा सानो गाउँमा बित्यो । उनले प्रारम्भिक पढाइ हिन्दी भाषामा गरेकी थिइन् । अवनीका पिता दिनांकर चतुर्वेदीले बीबीसीलाई भने, ‘सानैदेखि अवनी शान्त स्वभावकी थिइन् र उनलाई अनुशासनमा बस्न मन पथ्र्यो । तर, मलाई कहिले पनि लागेको थिएन कि उनी पाइलट बन्नेछिन् ।’
अवनीले १० औं र १२ औं दुवै बोर्ड परीक्षामा आफ्नो स्कुलबाट टप गरेकी थिइन् । त्यसपछि उनले इन्जिनियरिङको पढाइका लागि वनस्थली विद्यापीठ भर्ना भइन् । अवनीका बुवा पनि इन्जिनियर हुन् । आमा भने गृहणी मात्रै छिन् । दाजु भारतीय सेनामा छन् ।
बुवा दिनांकर चतुर्वेदीका अनुसार, स्नातकको पढाइ पूरा गर्दासम्म अवनीले पाइलट बन्ने निश्चय गरेकी थिइनन् । ‘सन् २००३ कल्पना चावलाको मृत्युपछि जब अबनीले उनको बारेमा पढिन्, त्यसपछि पहिलोपटक उनले मसँग अन्तरिक्षमा उडान भर्ने इच्छा व्यक्त गरिन्,’ दिनांकरले भने ।
अन्तरिक्ष यात्री कल्पना चावलाको जीवनबाट अवनी सर्वाधिक प्रभावित रहिछन् । अर्कोतर्फ दाजु भारतीय सेनामा भएकाले उनले सैनिक जीवनलाई नजिकबाट देखेकी थिइन् । दाजुबाट पनि उनलाई निकै प्रेरणा मिलेको थियो ।
इन्जिनियरिङको पढाइ पुरा गरेपछि अवनीले एयरफोर्सको टेक्निकल सर्भिसमा जानलाई परीक्षा दिइन् र पास भएपछि लडाकु पाइलट बनिन् । अहिले अवनी एयरफोर्स जामनगर एयरबेसमा छिन् । इतिहास रचेयता बुवासँग उनको कुरा भएको रहेनछ ।
छोरीको सफलताको विषयमा कसरी थाहा भयो त भन्ने प्रश्नमा हाँस्दै दिनांकर भन्छन्, ‘अघिल्लो रात एक मिडियाकर्मीले फोन गरेपछि मात्रै मलाई यो कुरा थाहा भएको हो ।’