एजेन्सी । रुसले युक्रेनमा भीषण हमला गरेको छ। आइतबार रातभरि युक्रेनको राजधानी किभमा रूसले मिसाइल र ड्रोनले भीषण हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ९० वटा मिसाइल र ६०० ड्रोन प्रहार गरेको हो। यो हमला रूस-युक्रेन युद्ध सुरू भएयताको सबैभन्दा ठूलोमध्येको हमला रहेको भनेर पनि रोयटर्सले लेखेको छ।
राष्ट्रपति जेलेन्स्कीले सहरका करिब ३० वटा भवन ध्वस्त तथा क्षतिग्रस्त भएको बताएका छन्। रातभरको हमलापछि हजारौं स्थानीयवासी मेट्रो स्टेशनमा आश्रय लिन पुगेका थिए।
‘यो अत्यन्त डर लाग्दो र त्रासपूर्ण थियो,’ ६२ वर्षीया नतालिया ज्वारिचले रोयटर्ससँग बताएकी छन्। आक्रमणमा आणविक हतियार बोक्न सक्ने ओरेसनकि हाइपरसोनिक मिसाइल समेत प्रहार गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
हमलाले किभको मन्त्रिपरिषद् भवन र विदेश मन्त्रालयमा सामान्य क्षति पुगेको छ भने राजधानीको राष्ट्रिय कला संग्रहालय र फिलहार्मोनिक हल गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।
साथै दर्जनौं आवासीय भवन, विद्यालय तथा ऐतिहासिक संरचनामा क्षति पुगेको बताइएको छ। आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने झन्डै एक सय जना घाइते भएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायलाई रूसविरूद्ध कडा कदम चाल्न आग्रह गरेका छन्। युरोपेली नेताहरूले पनि हमलाको निन्दा गरेका छन्।
बेलायत र जर्मनीले आणविक हतियार बोक्न सक्ने मध्यम दूरीको ‘ओरेसनिक’ क्षेप्यास्त्र प्रयोग गरेर रूसले युद्धलाई उक्साउने र खतरनाक मोडमा पुर्याउन खोजेको आरोप लगाएका छन्।
युरोपेली संघकी कूटनीतिक प्रमुख कजा कलासले मस्कोमाथि राजनीतिक त्रास सिर्जना गर्ने र आणविक तनाव बढाउने लापरवाही गरेको आरोप लगाएकी छन्। राष्ट्रपति जेलेन्स्कीका शीर्ष सल्लाहकार किरिलो बुदानोभले आक्रमणलाई युक्रेनी पहिचानमाथिको हमला भनेका छन्।
हमलामा सन् १९८६ को चर्नोबिल आणविक दुर्घटनालाई समर्पित नयाँ संग्रहालयसमेत ध्वस्त भएको छ। घटनास्थल पुगेका जेलेन्स्कीले यसप्रति आक्रोश व्यक्त गरेका छन्।
रुसले भने युक्रेनले आफ्ना नागरिक संरचनामाथि हमला गरेको आरोप लगाउँदै त्यसको जवाफस्वरूप ओरेसनिक, इस्कान्दर, किन्झाल र जिर्कोन क्षेप्यास्त्र प्रयोग गरिएको जनाएको छ। रुसी रक्षा मन्त्रालयले आक्रमण युक्रेनी सैन्य कमान्ड केन्द्र, हवाई अड्डा र सैन्य उद्योग लक्षित रहेको दाबी गरेको छ।
मस्कोले नागरिकलाई निशाना नबनाएको दाबी गरे पनि युद्धका क्रममा युक्रेनी सहरहरूमा भएका बमबारीबाट हजारौं सर्वसाधारण मारिइसकेका छन्।
ओरेसनिक मिसाइल युद्ध सुरु भएयता तेस्रोपटक प्रयोग गरिएको हो। यसअघि पनि रुसले युक्रेनका प्रमुख सहरलाई निशाना बनाएर यस्तो मिसाइल प्रहार गरेको थियो।
ओरेसनिक रूसले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। रूसले यसलाई उच्च गति र शक्तिशाली आक्रमण क्षमता भएको नयाँ पुस्ताको मिसाइलका रूपमा प्रस्तुत गरेको छ।
यसमा परम्परागत विस्फोटक वा परमाणु वारहेड दुवै राख्न सकिन्छ। यसबाट वारहेड छुट्टाछुट्टै भागमा विभाजित भएर एकैपटक धेरै लक्ष्यतर्फ आक्रमण गर्न सक्छ। यसलाई इन्टरसेप्टरले रोक्न समेत कठिन पर्ने बताइन्छ।
रुसले पहिलोपटक यो मिसाइल सन् २०२४ को अन्त्यतिर सार्वजनिक रूपमा प्रयोग गरेको दाबी गरेको थियो।







