काठमाडाैं, ३० असार । सामान्यतया नेपालमा जहाज दुर्घटनापछि गठन हुने छानबिन आयोगका प्रतिवेदन औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने परम्परा छ । त्यसक्रममा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका वायुसेवा कम्पनी तथा सरोकारवाला निकायलाई आमन्त्रण गरिन्छ ।
आयोगले अध्ययनका क्रममा तयार पारेको प्रतिवेदनमाथि व्यापक छलफल भई विभिन्न सुझाब कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन्छ । तर, यति एयरलाइन्स र मकालु एयरको जहाज दुर्घटना छानबिन गर्न गठित आयोगको प्रतिवेदन बुझ्न बिहीबार पर्यटन मन्त्रालयमा विभागीय मन्त्री र कार्यकारी हैसियतमा काम गर्ने सचिव उपस्थित थिएनन् ।
मन्त्री नभएको समयमा मन्त्रालय सम्हालेर बस्नुपर्ने सचिव शंकरप्रसाद अधिकारीसमेत लामो विदेश भ्रमणमा निस्किएपछि मन्त्रालय नेतृत्वविहीन बन्न पुगेको हो । उनको साटो दुवै प्रतिवेदन निमित्त सचिवको हैसियतमा सहसचिव सुरेश आचार्यले बुझे ।
त्यस समय दुर्घटना न्यूनीकरणमा कडाइका साथ निर्देशन दिन सक्ने उच्च नेतृत्व त थिएनन् नै, कार्यान्वयनमा खरो उत्रनुपर्ने सेवा प्रदायक र नियमनकारी निकायका प्रतिनिधिसमेत उपस्थित थिएनन् । सरकार विस्तार हुन नसक्दा अहिले पर्यटन मन्त्रालय नेतृत्वविहीन छ ।
स्थायी संयन्त्र नहुनु समस्या
पर्यटन मन्त्रालयका उच्च अधिकारीहरू नेपालमा दुर्घटना छानबिन गर्ने स्थायी संयन्त्र नहुँदा आयोग गठन र त्यसले तयार गर्ने प्रतिवेदन औपचारिकतामा सीमित भएको बताउँछन् । ‘कार्यालयको दैनिक कामकाजबाट केही समय बचाएर आयोगको काममा खटिनुपर्छ,’ मन्त्रालयका उपसचिव हरि खड्का भन्छन्, ‘एक स्थायी प्रकृतिको स्वतन्त्र दुर्घटना छानबिन आयोग हुने हो भने दुर्घटना न्यूनीकरणमा निकै फलदायी हुने थियो ।’ अन्य मुलुकमा दुर्घटना जाँचसम्बन्धी स्थायी संयन्त्रले वर्षभर दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर काम गर्छ ।साथै, हवाई दुर्घटनाको स्वतन्त्र रूपले छानबिन र प्रतिवेदन कार्यान्वयनमा दबाब दिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपालमा पनि स्थायी प्रकृतिको हवाई दुर्घटना जाँच आयोग बनाउन पटकपटक सुझाब दिइसकेको छ ।
यस्तो छ यती र मकालु दुर्घटनाको कारण
२० साउन ०७३ मा हुम्लाको सिमिकोट विमानस्थलनजिकै कर्णाली नदीमा दुर्घटनाग्रस्त मकालु एयर जहाज दुर्घटनाको मुख्य कारण इन्जिनमा आएको खराबी मानिएको छ । तर, छानबिन आयोगले इन्जिनको जाँच गर्न भने सकेन । आयोगका अनुसार कर्णाली नदीमा बगेको उक्त जहाजको इन्जिन फेला परे पनि दुर्घटनाग्रस्त स्थलसम्म विदेशी विशेषज्ञ जान नसक्ने, नेपालसँग इन्जिन जाँच गर्न सक्ने क्षमता नभएको र हेलिकोप्टरमा बोकाएरसमेत इन्जिन ल्याउन नसक्ने भएपछि इन्जिनको जाँचबिना नै प्रतिवेदन तयार पारिएको हो ।
प्रतिवेदनअनुसार आन्तरिक उडानको क्रममा भिजुअल फ्लाइट रुल (भिएफआर) अन्तर्गत सिमिकोटबाट सुर्खेतका लागि उडेको जहाजमा केही मिनेटमै प्राविधिक समस्या आएको थियो । त्यसक्रममा इन्जिनले पूर्ण रूपले काम गर्न छाडेपछि पाइलटले पुनः इन्जिन सञ्चालनको प्रयास गरेका थिए । त्यसक्रममा सफल नभएपछि फोर्स ल्यान्डिङ साइट खोज्दै पाइलटले सिमिकोट विमानस्थलमै अवतरणको प्रयास गरेका थिए । त्यसपछि पनि अवतरणमा सफलता नमिलेपछि कर्णाली नदी किनारमा फोर्स ल्यान्डिङ गर्दा जहाज दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा परे पनि दुई पाइलट भने नदीबाट पौडेर बाँच्न सफल भएका थिए । यस दुर्घटनामा मानवीय क्षति भएको थिएन ।
अर्कोतिर ८ असोज ०७३ मा भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाज दुर्घटनामा भने प्राविधिक कमजोरी नपाइएको प्रतिवेदनले उल्लेख गरेको छ । आन्तरिक उडानका क्रममा भिएफआरअन्तर्गत भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा करिब १ सय ३० मिटर ‘रनवे–ओभर–रन’ भई दुर्घटना भएको थियो । प्रतिवेदनअनुसार पाइलटले जहाज अवतरण गर्दा धावनमार्गको टचलाइनभन्दा केही अगाडि नै छुन पुगेपछि जहाज दुर्घटनामा परेको हो । अवतरणपछि जहाज रोक्ने क्रममा ‘फ्लाइट आइडियल पोजिसन’बाट ‘ग्राउन्ड आइडियल पोजिसन’मा नआएकाले जहाजको गति कम गर्न नसकिएको र सोहीकारण जहाज दुर्घटनामा परेको उल्लेख छ । यस दुर्घटनामा जहाजका उपकरणले काम नगरेको पाइलटको बयानअनुसार ती उपकरण जा“च गर्दा भने सबै उपकरण राम्रो अवस्थामा पाइएको छानबिन समितिका एक सदस्यले जानकारी दिए ।