काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत र व्यवस्थापनसँग सम्बन्धित समस्या तत्काल समाधान गर्न सरकार अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन्।
बुधबार स्वास्थ्य बीमासँग सम्बन्धित सरोकारवाला पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अर्थमन्त्री हाल वैदेशिक भ्रमणमा रहेकाले स्वदेश फर्किएपछि आवश्यक छलफल गरी ऋण लिएर भए पनि वा अन्य स्रोत खोजेर भए पनि समस्या समाधान गरिने स्पष्ट पारिन्।
‘अर्थमन्त्रीजी टुर (भ्रमण) मा हुनुहुन्छ । उहाँ आएपछि यसो बसेर छलफल गरेर ऋणपान गरेर हुन्छ कि, खोजेर हुन्छ कि । मान्छेले अनिकाल भयो भने के हुन्छ ? छोराछोरीको माखामुन्द्रा तानतुन पारेर भएपनि झिटीझाम्टा बेचेर भएपनि काँसमा थाल रहेछन् भने बरु सिलेवरमा खाएर बेचेर पनि गर्छ । त्यसैले केही उपाय त गर्नुपर्छ । नगरी त हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
गरिव वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरुका लागि सो कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
‘स्वास्थ्य बीमा कार्यक्रमलाई नियमन गर्न जरुरी छ । १६ लाखको दु:खी, गरिब असहाय सबैलाई सडकमा बसेका गरिब विपन्न वर्ग, त्यसपछि अल्पसंख्यकहरू, अब त्यस्तोलाई दिने हो भने त्यो हिसावबाट एकद्वारबाट जानुपर्यो,’ प्रधानमन्त्री कार्कीले अघि भनिन्, ‘पैसा पनि गइराखेको छ, उपचार पनि पाइराखेको छैन । कहाँ के भएको हो ? अब त्यो त ठिक भएन,’ उनले भनिन् ।







