कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ । प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् ।

नेपाली कांग्रेसका सांसदहरूले भने विपक्षमा मतदान गरे । कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् ।

राप्रपाका सांसदहरू भने तटस्थ बसे । कोशीमा राप्रपाका सभामुख सहित ५ सदस्य छन् । जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बु अनुपस्थित भइन् ।

९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् । सोमबारको प्रदेशसभा बैठकका ८३ सदस्य उपस्थित थिए ।