चीनको कूल गार्हस्थ उत्पादनको हालै सार्वजनिक तथ्याङ्कले सन् २०१७ मा उल्लेख्य वृद्धि भएको देखाएको छ । विश्व अर्थतन्त्रका अन्य राष्ट्रसँगको आर्थिक सहकार्यले उसको आर्थिक वृद्धि कमजोर नभएको समेत सो तथ्याङकले स्पष्ट पारेको छ । यद्यपि, चीनले सार्वजनिक गरेको तथ्याङकको विश्वसनीयता सामाजिक सञ्जालमा अहिले बहसको विषय बनेको छ ।
पछिल्ला वर्षमा चीनका केही प्रान्तले आर्थिक गतिविधि बढेको (वास्तविकतभन्दा पनि बढी) विवरण प्रकाशन गर्दै आइरहेको विषयमा पनि बहस केन्द्रित छ । तर, हामी सबैलाई थाहा भएसम्म अन्य केही प्रान्तले चाहिँ त्यसको ठीक विपरीत पनि गरिरहेका छन् । जसरी प्रान्तले आफ्नो क्षेत्रको आर्थिक क्रियाकलापका तथ्याङ्क बढाएर सकारात्मक असरको फाइदा लिन लागेका छन्, उनीहरूले सोचेजस्तो उल्लेख्य प्रभाव समग्र राष्ट्रका आर्थिक क्रियाकलापमा पर्नचाहिँ गाह्रै छ ।
सन् १९९० मा पहिलोपटक तथ्याङ्क प्रकाशन गर्न सुरुवात गरेदेखि नै चिनियाँ अधिकारीले प्रकाशन गरेका तथ्यांकमा मुख्य दुईवटा विषयचाहिँ छुट्दै आएका छन् । पहिलो कुरा त, चीनका निकायले बढाइचढाइ गरी सकारात्मक आशा जगाउन बढी सकारात्मक तथ्यांक प्रकाशन गर्दै आएका छन् भन्ने हो । त्यसैगरी, दोस्रो विषय चीनले प्रकाशन गरेका तथ्यांकमा चीनमा व्यापार गर्ने प्रमुख अन्तर्राष्ट्रिय कम्पनीलाई पनि व्यावसायिक साझेदार बनाइनु उपयुक्त हुन्छ भन्ने हो । फ्रान्स र अमेरिका दुवैलाई जर्मनीको प्रमुख व्यापार साझेदारका रूपमा चीनले पहिले नै उछिनिसकेको मैले पहिले नै लेखेको पनि छु ।
सन् २०१७ मा सार्वजनिक वार्षिक तथ्यांक चीनले सार्वजनिक गरेको कुल गार्हस्थ उत्पादन वृद्धिको तथ्यांकसँग मेल खाएको धेरै मिडियाले जोड दिएका छन् । सरकारले सन् २०१७ मा कुल गार्हस्थ उप्पादन ६ दशमलव ५ प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको भए पनि विगत दुई वर्षमा आएको सुधारले गर्दा सोभन्दा बढी ६ दशमलव ९ प्रतिशत वृद्धिदर कायम भएको भएको मिडियाले विश्लेषण गरेका छन् । अझ महत्वपूर्ण कुरा त के छ भने चीनको कुल गार्हस्थ उत्पादनको अमेरिकी डलरमा गणना गर्ने गरिएको छ । यसले केही हदसम्म चिनियाँ युआन सहयोग गरेको पनि छ । सन् २०१७ मा चीनको आर्थिक उत्पादकत्व १२ दशमलव ७ ट्रिलियन डलर पुगेको छ । विगत १२ महिनाअघिको तुलनामा यो १३ प्रतिशत (१ दशमलव ५ ट्रिलियन)ले व्यापक वृद्धि भएको हो ।
चीनले पनि जापानकै पाइला पछ्याएको र दीर्घकालीन रूपमा मूल्यवृद्धितर्फ अघि बढेको बताउँदै आएका मानिस पनि पछिल्लो समय टाढा पर्न थालेका छन् । मेरो विचारमा यस्ता अति सामान्य धारणा कहिल्यै पनि उपयोगी हुन सक्दैनन् । चीनले मूल्यवृद्धि नियन्त्रण गर्न प्रयास मात्र चालेको छैन, बरु मुद्रा सबल गर्ने प्रयास पनि गरि नै राखेको छ ।
सन् २००० को दशकमा म र अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी गोल्डम्यान स्याक्सका पूर्वकर्मचारी तथा मेरा सहकर्मीहरूले ब्रिक राष्ट्र (ब्राजिल, रूस, भारत र चीन)को आर्थिक वृद्धिको अध्ययन गर्न थाल्यौँ । सन् २०१५ को अन्त्यसम्ममा मात्र चीनले जापानको जस्तै आर्थिक व्यवस्था लागू गर्न सक्छ भन्ने अनुमान गरेका थियौँ । चीनको अर्थतन्त्र जापानको भन्दा साढे दुई गुणा, भारतको भन्दा पाँच गुणा र ब्राजिलको भन्दा ६ गुणा तथा रूसको भन्दा आठ गुणा ठूलो भइसकेको अवस्था (सन् २०१८ को सुरुवात सम्म)मा पनि सो काम सुरु हुन सकेको छैन । चीनको अर्थतन्त्र समग्र युरोपको भन्दा पनि ठूलो भइसकेकोे छ ।
सन् २०१७ मा मात्र चीनको कुल गार्हस्थ उत्पादन करिब १ दशमलव ५ ट्रिलियन (१५ खर्ब) डलर वृद्धि भएको थियो । साधारण भाषामा भन्नुपर्दा यो भनेको दक्षिण कोरियाको पछिल्लो अवस्थाको अर्थतन्त्रबराबर हो भने युरोपेली राष्ट्र स्विट्जरल्यान्डको भन्दा दोब्बर बढी हो । यसैगरी, स्विडेनको भन्दा तीन गुणा बढी हो । सन् २०२७ भन्दा पहिले नै नभए पनि त्यसको केही समयपछि नै चीनको अर्थतन्त्रको आकार अमेरिकी अर्थतन्त्र समान हुन सक्ने पछिल्ला अध्ययनले देखाएका छन् । त्यसपछिको एक दशकभित्रै ब्रिक राष्ट्रको अर्थतन्त्र ठूला अर्थतन्त्र भएका सात राष्ट्रको समूह जी–सेभेन राष्ट्रको अर्थतन्त्रभन्दा ठूलो बन्ने देखिएको छ ।
यसका लागि चीनको उपलब्धिले निकै ठूलो भूमिका खेल्ने निश्चितै छ । अहिले नै पनि ब्रिक राष्ट्रको अर्थतन्त्र जापानको भन्दा ठूलै छ । अहिले ब्राजिल र रुसको आर्थिक वृद्धि कमजोर भएको देखिए पनि ब्रिक राष्ट्रको अर्थतन्त्रले सन् २०१८ को विश्वको कुल गार्हस्थ उत्पादनलाई निकै ठूलो योगदान गर्ने देखिएको छ ।
विश्वको कुल गार्हस्थ उत्पादन वृद्धिका लागि चीनका उपभोक्ताको योगदान पक्कै पनि उल्लेख्य छ । चीनमा औद्योगिक शक्ति मात्र रहेको भन्दै धेरैे विश्लेषकले आलोचना गर्दै आइरहेका पनि छन् । तर चीनको उपभोग पनि कुल गार्हस्थ उत्पादनको करिब ४० प्रतिशत पुगेको छ । सन् २०१० देखि चीनका उपभोक्ताले करिब २९ खर्ब डलरबराबर विश्व अर्थतन्त्रमा थपेका छन् । यो संयुक्त अधिराज्य बेलालयतको समग्र अर्थतन्त्रभन्दा पनि बढी हो । बेलायती व्यापार समन्वयकर्ताले के कुरा नोट गर्नुपर्छ भने युरोपेली संघबाट बेलायत बाहिरिएको अवस्थामा चीनका उपभोक्ताको मनोबल बढेकाले त्यहाँको उपभोग बेलायतको अर्थतन्त्रभन्दा अझ माथि पुग्ने कुरा महत्वपूर्ण छ ।
चीनले हालै सन् २०१७ को डिसेम्बर महिनासम्मको तथ्यांक सार्वजनिक गरेको छ । सो तथ्यांकले गत वर्षका प्रत्येक महिनाको खुद्रा बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा एकपटक मात्र करिब ९ दशमलव ४ प्रतिशतले कमी आएको देखाएको छ । सो महिना पनि वास्तविक उपभोग कमजोर नभएको तर सन् २०१७ को उत्तरार्धमा चिनियाँ नीति निर्माताले कडाइ गरेका कारण घट्न पुगेको देखिएका बताइँदै आएकाले अझै पनि एउटा आशाचाहिँ बाँकी नै छ ।
विश्व अर्थतन्त्रमा चीनको महत्व बढ्दै गइरहेको छ भनिरहनु आवश्यक छैन । चीनको अर्थतन्त्रमा आएको उतारचढावको जोखिम विश्वका दीर्घकालीन नीतिमा पर्दै जानेचाहिँ स्पष्ट छ । वास्तवमा उपभोगमा कमी आउनु चीनका लागि मात्र नकारात्मक विषय होइन, बरु विश्व अर्थतन्त्रको वृद्धिका लागि नै यो विषय चिन्ताजनक छ । उत्पादनमुखी अर्थतन्त्रबाट आन्तरिक उपभोगमुखीतर्फ स्थानान्तरण भएकाले विश्व उपभोगमा चीन निर्णायक बन्न थालेको छ ।
जिम ओ’निल अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक संस्था गोल्डम्यान स्याक्समा सम्पत्ति व्यवस्थापनतर्फका पूर्वअध्यक्ष तथा म्यानचेस्टर विश्वविद्यालयका अर्थशास्त्र विषयका मानार्थ प्राध्यापक हुन् ।