काठमाडौँ । बागमती नदीको गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी कोरिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ ।
साथै, गुह्येश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थुप्रिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।







