प्रारम्भिकीः
नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा क्रान्तकारीहरु यस बिषयमा गम्भीरतापूर्बक छलफल गर्न जरुरी भएको छ ।
साँस्कृतिक रुपान्तरणलाई क्रान्तिको प्रवाहमा बुझ्ने प्रश्नः
क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी र आन्दोलनभित्र साँस्कृतिक पक्षको महत्वलाई सही ढंगले आत्मसात गर्न नसक्नु आफैमा एउटा समस्या हो । बास्तबमा यस बिषयले हाम्रो आन्दोलनभित्र पाएको महत्व कति मात्र हो भने पार्टीको माातहतमा साँस्कृतिक मोर्चा निर्माण गर्नु, मोर्चामार्फत साँस्कृतिक लेख रचनाहरु प्रकाशन गर्नु, पार्टीद्वारा चलाइने जनजागरण र जनपरिचालनका अभियानहरुमा साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नु, श्रब्य–दृश्य सामाग्रीहरु निर्माण गर्नु यस्तै–यस्तै । यस क्रममा मुख्यतया जनजागरणको हतियारको रुपमा, क्रान्तिकारी आन्दोलनको पक्षमा जनमत तयार गर्ने साधनको रुपमा यसको भूमिका महत्वपूर्ण रह्यो । हाम्रो पार्टी र आन्दोलनमा यसले पाएको महत्वको आधारमा निर्बाह गरेको भूमिका यही हो ।
क्रान्तिकारी आन्दोलनको तयारी र बिकासको एउटा निश्चित चरणसम्म यो भूमिकाको महत्व स्वतः स्पष्ट छ । तर क्रान्तिकारी आन्दोलनको बिकाससंगै साँस्कृतिक पक्षको भूमिकालाई माथि उठाउने मूल बिषय अझैसम्म थाती रहेको छ । यसको मूुल कारण संस्कृति र साँस्कृतिक रुपान्तरणबारे बुझाइकै समस्या हो । संस्कृति भनेको आर्थिक, राजनीतिक अबस्थाको बैचारिक प्रतिबिम्बन हो । हामी हाम्रो राजनीतिको कुरा गर्छौं, त्यसको अर्थनीतिको कुरा गर्छौं तर त्यसको साँस्कृतिक पक्ष कस्तो हुने ? यो बिषयलाई सधैं उपेक्षा गर्छौं । जसले गर्दा साँस्कृतिक रुपान्तरणको पक्ष ओझेलमा पर्दै आएको छ ।
यसैको कारण हो, हाम्रो आन्दोलनभित्र बिचार त नयाँ छ तर ब्यबहार र आचार पुरानै छ । ध्यय–उदेश्य त नयाँ छ संस्कार र जीवनशैली पुरानै छ । आन्दोलनभित्रको यो अन्तरबिरोधी अबस्था हाम्रो कमजोर साँस्कृतिक धरातलको परिणाम हो । वास्तवमा साँस्कृतिक रुपान्तरणको पक्ष क्रान्तिकारी बिचार र ब्यबहारको एक मात्र कसी हो । त्यसैले क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको पक्षलाई महत्वकासाथ अगाडी बढाउन जरुरी छ ।
महान सर्बहारा साँस्कृतिक क्रान्तिको दृष्टिबिन्दुलाई पक्रने कुराः
महान सर्बहारा साँस्कृतिक क्रान्तिको मूल मर्म नै साँस्कृतिक रुपान्तरणमा आधारित निरन्तर क्रान्तिको सिद्धान्त हो । क. माओत्सेतुङको प्रत्यक्ष नेतृत्वमा सन १९६६ मा चीनीयाँ कम्युनिस्ट पार्टीले महान सर्बहारा साँस्कृतिक क्रान्तिको सुत्रपात गरेको थियो । आखिर सत्तारुढ पार्टीले नै आम जनसमुदायलाई अर्को क्रान्तिको, महान सर्बहारा साँस्कृतिक क्रान्तिको निमित्त आह्वान किन गर्नु पर्यो त ? यो बिषय एक्काइसौं शताब्दीको क्रान्तिको लागि एउटा अपरिहार्य शिक्षा बन्न पुगेको छ ।
पहिलो, आर्थिक आधारमा समाजबादी रुपान्तरण भइसकेपछि तत्कालै अधिरचना (बिचार,संस्कृति, मूल्य मान्यता)को क्षेत्रमा पनि त्यस अनुकूल परिबर्तन भइहाल्छ भन्ने सोच्नु गलत हुन्छ भन्ने पुष्टि भएको छ । बरु आधारमा परिबर्तन भइसकेपछि पनि अधिरचनाको क्षेत्रमा पुराना सडेगलेका बिचार, संस्कार र मूल्य मान्यताको असर पछिसम्म रहिरहन्छ । त्यसैले अधिरचनाको क्षेत्रमा पनि आन्दोलन चलाइरहनु पर्दछ । पार्टीको आन्तरिक जीवनका लागि पनि यही कुरा सत्य हो । पार्टीभित्र नेता कार्यकर्ताहरुको भौतिक रुपले सर्बहाराकरण भइसकेपछि पनि बिचार, चिन्तन, दृष्टिकोण र आचरणको क्षेत्रमा रुपान्तरणको निरन्तर आन्दोलन चलाइरहनु पर्दछ ।
नेता, कार्यकर्ताहरुको भौतिक सम्पत्ति पार्टीकरण गर्ने कुराले आधारको क्षेत्रमा त पार्टी जीवनमा तत्काल समाजबादी रुपान्तरण गरिदिन्छ तर अधिरचना (बिचार, संस्कृति, मूल्य, मान्यता)को क्षेत्रमा सर्बहाराकरण हुन धेरै समय लाग्छ । यसको निमित्त आफैभित्र निर्मम संघर्षको बीचबाट गुज्रनै पर्छ । महान सर्बहारा साँस्कृतिक क्रान्तिको दौरानमा क. माओले ‘क्रान्तिको पहिलो निशाना आफैलाई बनाउन र आफ्नै टाउकोमा क्रान्तिको राँको झोस्न’ दिनुभएको निर्देशको मर्म यहंीनेर छ । अन्यथा पचास हजारको झिटिझाम्टी पार्टीकरण गरेर सर्बहाराकृत भएको आबरणमा मासिक एक लाखको सुबिधा उपभोग गर्ने प्रबृत्तिको बिकास हुन जान्छ । जनताको निमित्त ज्यानको बाजी लगाएर लडेको भन्ने नाममा जनतामाथि मालिक हुन खोज्ने नोकरशाही प्रबृत्तिको बिकास हुन जान्छ । यो हाम्रो आफ्नै आन्दोलनको अनुभवसिद्ध शिक्षा पनि हो ।
त्यसकारण सिङ्गो पार्टीको क्रान्तिकारी गुणतत्वलाई बचाइराख्ने, सिंगो पार्टी पंक्तिलाई जनसमुदायको निगरानीभित्र जनताकै सेवामा समर्पित गरिरहने निरन्तर क्रान्तिको बीचबाट नै क्रान्तिको रक्षा र बिकास सुनिश्चित हुन सक्तछ । यसरी मात्र प्रतिक्रान्तिको खतरालाई रोक्न सकिन्छ । महान सर्बहारा साँस्कृतिक क्रान्तिको शिक्षाको सारतत्व यही हो ।
दोश्रो, महान सर्बहारा साँस्कृतिक क्रान्तिले पार्टी र आन्दोलनभित्रका दक्षिणपन्थी संशोधनबादीहरु र गैरसर्बहारा प्रबृत्ति बिरुद्धको संघर्षमा आम जनसमुदायको सहभागितालाई सुनिश्चित गर्यो । यसले जनसमुदायको क्रान्तिकारी चेतनाको बिकासद्वारा नै प्रतिक्रान्तिलाई रोक्ने बिधिको बिकास गर्यो । यस क्रममा क. माओले पार्टी र आन्दोलनभित्रका बुर्जुवाहरुको मुख्यालयमा बमबर्षा गर्न आह्वान गर्नु भयो । मुखले क्रान्तिको कुरा गर्ने तर चिन्तन, आचार र समग्र ब्यबहार क्रान्तिबिरोधी हुने, समग्र समाजको हित र प्रगतिको कुरा गर्ने तर ब्यक्तिगत सुख, सुबिधा र लाभको पछि दौड्ने गैरसर्बहारा चिन्तन प्रबृत्ति नै प्रतिक्रान्तिको आधार हो । यहीबाट संशोधनबादको जन्म हुन्छ । यसका बिरुद्ध संघर्ष नगरी प्रतिक्रान्तिलाई रोक्न सम्भब हुँदैन ।
क्रान्तिकारी सिद्धान्तमा पकड भएन भने संशोधनबादलाई चिन्न र त्यसका बिरुद्ध संघर्ष गर्न सम्भव हुन्न । त्यसैले क्रान्तिकारी सिद्धान्तको क्षेत्रमा अध्ययन र चिन्तन मननलाई पार्टी र समग्र आन्दोलनमा अभिरुचिकासाथ ब्यबस्थित गर्नैपर्छ । महान सर्बहारा साँस्कृतिक क्रान्तिमा पार्टी नेता–कार्यकर्ताहरु र आम जनसमुदायलाई माक्र्सबादी लेनिनबादी ग्रन्थहरु र सैद्धान्तिक कृतिहरु अध्ययन गर्न उत्प्रेरित गरिएको कुराले यस सन्दर्भमा बिशेष महत्व राख्दछ ।
आज हाम्रो पार्टी जीवन र समग्र आन्दोलनमा देखा पर्दै आएको यो समस्यालाई चिर्न योजनाबद्ध अध्ययन–अध्यापनको प्रयत्न थालिएको छ । पार्टी केन्द्रले थालेको योजनाबद्ध स्कूलिङको यो स्पीरिटको महत्व यहींनेर छ । यसलाई आधारभूत कोर्सकै रुपमा संचालन गर्दै जनस्तरसम्म स्थापित गर्ने सोच्नुपर्छ । पार्टी जीवनमा ब्याप्त रहेको अध्ययन र चिन्तन मननप्रतिको अरुचिलाई अन्त्य गरिदिनु पर्छ । सबै नेता–कार्यकर्ताहरुको झोलामा क्रान्तिकारी कार्यसम्पादनको निमित्त योजनाबद्ध कार्यसूचि हुनुपर्ने मान्यता स्थापित गरिनुपर्छ । उन्नत स्तरको बैचारिक तथा साँस्कृतिक चेतनाले मात्र क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई जीवन्त राख्न सक्छ । क्रान्तिकारी आन्दोलनमा सैद्धान्तिक र बैचारिक अध्ययन अध्याापनको महत्व यहींनेर छ ।
तेश्रो, आजको हाम्रो सन्दर्भमा दुइवटा कुरामा साँस्कृतिक रुपान्तरणलाई जोड्नै पर्दछ । एक, क्रान्तिकारी पार्टीको गुणतत्व र शुद्धताको बिकाससंग । दुई, क्रान्तिकारी उपलब्धिहरुको रक्षा र बिकाससंग । बिगतमा पार्टीको बैचारिक साँस्कृतिक धरातल कमजोर हुनुकै परिणाम बैचारिक बिचलन र साँस्कृतिक स्खलनका गम्भीर समस्या हामीले भोगिसकेका छौं । बिगत लामो समयदेखि पार्टीभित्रको यो बिचलन, बिसर्जन र स्खलनका बिरुद्ध बिचारधारात्मक संघर्ष गर्दै पार्टीको क्रान्तिकारी गुणतत्व जोगाउन सफल भएका छौं । पार्टीको यही क्रान्तिकारी गुणतत्व नै हाम्रो समग्र आन्दोलनको प्रकाशपुञ्ज हो । यसलाई पार्टी जीवनमा सशक्त रुपले स्थापित गर्न जरुरी छ ।
यसको निमित्त महान सर्बहारा साँस्कृतिक क्रान्तिको दृष्टिबिन्दुलाई पक्रनै पर्छ । र, पार्टी जीवनको अभिन्न अंगको रुपमा साँस्कृतिक क्रान्तिको अभ्यास आजैदेखि निरन्तर जारी राख्न जरुरी छ । क्रान्तिको स्वार्थलाई केन्द्रमा राख र बर्गसंघर्षलाई मुख्य कडी बनाऊ, क्रान्तिकारी सिद्धान्तलाई पक्र र संशोधनबादका बिरुद्ध संघर्ष गर, सर्बहारा संस्कृतिको अभ्यास गर र स्वम्लाई पनि क्रान्तिको निशाना बनाऊ, निम्न पूँजीबादी अबसरबादबाट पार्टीलाई बचाऊ, सर्बहारा अनुशासन कायम गर, जननीति अख्तियार गर र बिद्रोह गर्ने शाहस गर, यी महान सर्बहारा साँस्कृतिक क्रान्तिका सारतत्व हुन ।
निष्कर्षः
क्रान्तिकारी आन्दोलनले बिकास गरेका नयाँ मूल्य–मान्यता, बिचार र संस्कृतिलाई पुनर्जिवित गर्दै आन्दोलनभित्र सर्बहाराकरणको अभ्यास, शुद्धिकरणको प्रक्रिया, सामुहिक जीवनशैली र सहकारिताको बिकास जस्ता आधारभूत बिषयहरुले हाम्रो पार्टी जीवनका कार्यसूचीमा प्राथमिक महत्व राख्नै पर्दछ ।
महान सर्बहारा साँस्कृतिक क्रान्ति मालेमाबादमा बिकासको आजसम्मकै शिखरबिन्दु हो । यसको आलोकबिना दुनियाँमा कही कतै अबको क्रान्ति सम्पन्न हुन नसक्ने तथ्यलाई सही ढंगले बुझ्न जरुरी छ । आजको माक्र्सबाद भनेको प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सबाद हो । महान सर्बहारा साँस्कृतिक क्रान्ति आज हाम्रो सन्दर्भमा सामाजिक दलाल पूँजीबादमा पतित प्रचण्ड मण्डलीको आत्मसमर्पणबाद र प्रतिक्रान्तिका बिरुद्धको अपराजेय ध्वजा हो । यसलाई प्रस्थानबिन्दु बनाएर नै आजसम्मका क्रान्तिकारी उपलब्धिको रक्षा र बिकास गर्न सकिन्छ । र, आजको क्रान्तिकारी आन्दोलनलाई सही ढंगले दिशानिर्देश गर्न सकिन्छ । समग्र क्रान्तिकारी आन्दोलनमा अन्तरनिहित साँस्कृतिक आन्दोलनको महत्वलाई ठीक ढंगले बुझ्ने र बास्तबिक जीवन ब्यबहारमा इमान र निष्ठापूर्बक लागु गर्ने कुराको खास अर्थ यहीनेर छ । त्यसैले महान सर्बहारा साँस्कृतिक क्रान्तिको दृष्टिबिन्दुलाई पक्रदै चित्त प्रशन्नताकासाथ क्रान्तिकारी आन्दोलनमा हेलिने कुरालाई बिशेष महत्वकासाथ उठाइएको हो ।