अनलाइन स्क्यामिङ के हो र कसरी बच्ने?

नलाइन स्क्यामिङ (Online Scamming) भनेको इन्टरनेटमार्फत ठगी गर्ने कार्य हो । यसमा स्क्यामर (ठग) ले विभिन्न चालचलन, झुटा जानकारी वा आकर्षक अफर प्रयोग गरेर मानिसहरूलाई धोका दिई पैसा ठगी गर्दछ्न् ।

व्यक्तिगत विवरण (जस्तै बैंक जानकारी, पासवर्ड, OTP, आदि) वा अन्य मूल्यवान जानकारी हत्याएर अथवा सिधै प्रलोभनमा पारी रकम आफ्नो खातामा पार्छन् ।

सरल भाषामा भन्नुपर्दा अनलाइन स्क्यामिङ भनेको इन्टरनेट प्रयोग गरेर मानिसलाई झुक्याई ठगी गर्नु हो।

नेपालमा देखिएका प्रमुख अनलाइन स्क्यामका उदाहरणहरू

१. नकली लटरी र गिफ्ट अफर स्क्याम

फेसबुक, म्यासेन्जर, वा SMS मार्फत “तपाईंले iPhone / कार / यति लाख नगद जित्नुभयो!” भनेर सन्देश पठाइन्छ।

त्यसपछि “सर्भिस चार्ज” वा “कस्टम शुल्क” भन्दै पैसा पठाउन लगाइन्छ। अन्ततः पैसा गयो, गिफ्ट कहिल्यै आउदैन।बल्ल, आफू ठगिएको थाहा हुन्छ ।

२. रोम्यान्स स्क्याम

विदेशी ब्यक्ति वा आकर्षक फोटो राखेर झुटो प्रोफाइल बनाइन्छ।

प्रेम सम्बन्धको नाटक गरेर विश्वास जितिन्छ।

त्यसपछि “उपहार पठाएको छु, तर कस्टममा अड्किएको छ, पैसा पठाऊ” भनेर ठगिन्छ ।

यो ठगी विशेष गरी फेसबुक र इन्स्टाग्राममा बढी देखिन्छ।

३. अनलाइन रोजगारी र इनकम स्क्याम

“घरमै बस्दै कमाई गर्नुहोस्”, “डेटा इन्ट्री गरेर दैनिक हजारौँ कमाउनुहोस्” जस्ता विज्ञापनहरू अनलाइनमा देखाइन्छ ।

सुरुमा “रजिस्ट्रेसन शुल्क” वा “टास्क चार्ज” मागिन्छ।

पैसा तिरेपछि कम्पनी वा वेबसाइट हराउँछ। कतिपयमा भने पैसा लगानी गर्न लगाइन्छ । शुरुमा नाफा भयो भन्दै पैसा दिइन्छ र ठूलो रकम हालेपछि त्यो फिर्ता आउदैन ।

४. फिसिङ र बैंक स्क्याम

स्क्यामरहरूले बैंकको नाममा इमेल वा म्यासेज पठाउँछन्:
“तपाईंको खाता ब्लक हुँदैछ, यो लिंकमा क्लिक गर्नुहोस्।”

लिंकमा गएपछि नकली वेबसाइटमा तपाईंको ATM नम्बर, पासवर्ड, OTP मागिन्छ।

ती विवरण प्रयोग गरेर ठगहरूले खाताबाट पैसा निकालेका घटना धेरै छन्।

५. मोबाइल एप र ठगी लिंक स्क्याम

“रिचार्ज बोनस पाउनुहोस्”, “नेपाल टेलिकमको अफर” भनेर नकली लिंक पठाइन्छ।

लिंक खोलेपछि फोनको जानकारी चोरी हुने वा ह्याक हुने जोखिम हुन्छ।

६. क्रिप्टो र इनभेस्टमेन्ट स्क्याम

“१० हजार लगानी गर्नुस्, महिनामा १ लाख फिर्ता हुन्छ” भन्ने जस्ता आकर्षक लोभ देखाइन्छ।

यो प्रकारका स्क्यामहरू खासगरी Telegram र WhatsApp समूहहरूमा बढी सक्रिय छन्।

लोभमा परी कम्पनी दर्ता नभएका, नाम र ठेगाना नभएका स्किमहरूमा लगानी गरि मानिसहरू पैसा फसाउछन् । शुरुमा फाइदा भयो भन्दै लगानीमा रकम थपेर प्रलोभनमा पारिन्छ ।

७. नक्कली च्यारिटी (दान माग्ने) स्क्याम

प्राकृतिक विपद्, बिरामी बालक, वा असहाय परिवारको नाममा
“GCash, eSewa, Khalti” मार्फत दान पठाउन आग्रह गरिन्छ।

पछि थाहा हुन्छ — खाता ठगको हो।

८. नक्कली सहायता माग

अकस्मात पैसा आवश्यक भएको भन्दै नक्कली परिचय बनाइ सो पहिचानका आफन्त वा साथीभाइसंग पैसा सहयोग मागेर ठगी गरिन्छ ।

 सुरक्षाका उपायहरू

१, अज्ञात लिंकमा कहिल्यै क्लिक नगर्नुहोस्।

२. OTP, पासवर्ड, वा बैंक विवरण कसैलाई नदिनुहोस्।

३, आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्नुहोस्।

४. कुनै अफर असामान्य रूपमा राम्रो लागे त्यो ठगी हो भनेर शंका गर्नुहोस्। आफन्त, साथीभाइ र डिजिटल ज्ञान भएकाहरुको कुरा सुन्नुहोस । लाभ हुने लोभमा पैसा नपठाउनुहोस् ।

५, मोबाइल नम्बरमा कुराकानी गरि निश्चित भएपछि मात्र आफन्त र साथीहरूलाई आश्यकतामा सहयोग गर्नुहोस् ।

६.अपरिचित मानिसहरुले बनाएको अनलाइन ग्रुपमा अपरिचित ब्यक्ति वा, समूहको उक्साहट र बिश्वासमा नपर्नुहोस ।

७. ठगी भएमा वा, ठगीको आभास भएमा तुरुन्तै नेपाल प्रहरीको साइवर ब्युरोमा उजुरी दिनुहोस्।अथवा नजिकैको प्रहरीलाई खबर गर्नुहोस् ।