
जापान । ओसाकामा ६ महिनासम्म चलेको वर्ल्ड एक्स्पो २०२५ सोमबार एक भव्य समापन समारोहका साथ सम्पन्न भएको छ।
“Designing Future Society for Our Lives” अर्थात् हाम्रो जीवनका लागि भविष्यको समाजको डिजाइन भन्ने नाराका साथ सञ्चालन भएको उक्त एक्स्पोले विश्व समुदायमा प्राविधिक नवप्रवर्तन, हरित ऊर्जा, र मानव–केन्द्रित विकासका विषयलाई मुख्य रुपमा उजागर गरेको थियो।
नेपालसहित १ सय ५८ राष्ट्र र ७ अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी रहेको एक्स्पोमा करिब २ करोड ५० लाखभन्दा बढी आगन्तुकले भ्रमण गरेको आयोजक समितिले जनाएको छ। यो संख्या आयोजकहरूले अपेक्षा गरेकोभन्दा बढी भएकाले यसलाई अत्यन्त सफल विश्व प्रदर्शनीका रूपमा मूल्यांकन गरिएको छ।
एक्स्पोको समापन समारोहमा जापानका उच्च अधिकारीहरूको उपस्थिति थियो। सो अवसरमा सहभागी राष्ट्रहरूका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।
समारोहको अन्त्यमा आगामी वर्ल्ड एक्स्पो २०३० को झण्डा साउदी अरबको राजधानी रियादलाई हस्तान्तरण गरिएको छ। रियादमा हुने सो प्रदर्शनी सस्टेनेबल फ्यूचर अर्थात् दिगो भविष्यको निर्माण भन्ने नारामा केन्द्रित हुने जनाइएको छ।
वर्ल्ड एक्स्पो २०२५ का प्रमुख आकर्षणहरूमा भविष्यका स्मार्ट सहरहरूको मोडेल, कृत्रिम बुद्धिमत्ता र जैवप्रविधिका नयाँ आविष्कार, सांस्कृतिक प्रदर्शनीहरू, र सहभागी देशहरूको राष्ट्रिय पविलियन रहेका थिए।
एक्स्पोमा नेपालले पनि आफ्नो पर्यटन, कला, संस्कृति र हस्तकला प्रदर्शनी प्रस्तुत गरेको थियो, जसले विदेशी पर्यटक र सञ्चारमाध्यमको विशेष ध्यान खिचेको थियो।
यसरी जापानको ओसाकामा सम्पन्न वर्ल्ड एक्स्पो २०२५ ले विश्वका राष्ट्रहरूबीच सहकार्य, नवप्रवर्तन र दिगो भविष्य निर्माणतर्फको साझा प्रतिवद्धता बलियो बनाएको बताइन्छ।





