पूर्व एआइजिपी देवेन्द्र सुवेदीविरुद्ध साइबर सेलमा उजुरी

काठमाडौ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ।

सुवेदीले सामाजिक सञ्जालमार्फत जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते प्रचण्डको निवासबाट घर जल्नु दुई दिन अघि नै दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको भन्ने दाबी गर्दै गलत र तथ्यहीन प्रचार फैलाएको सचिवालयको आरोप छ।

सचिवालयका अनुसार सुवेदीले यस्ता झुठा सामग्री सार्वजनिक गरेर भ्रम फैलाउनुका साथै पार्टी नेतृत्वको चरित्रहत्या गर्ने प्रयास गरेका छन्।

डिजिटल माध्यम प्रयोग गरी गरिएको यस्तो गलत प्रचार साइबर कानुनविपरीत भएकाले आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको सचिवालयले जनाएको छ।

उक्त उजुरी प्रचण्ड सचिवालयका तर्फबाट नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता गरिएको बताइएको छ  ।