पाँच हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट भागेका हजारौं कैदीबन्दी अझै फिर्ता नहुँदा शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको छ।

कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी फिर्ता भइसके पनि ५ हजार ५४७ जना अझै फरार छन्, जसले देशभरको सुरक्षा संयन्त्रलाई चिन्तित बनाएको छ।

पछिल्लो केही कर्तव्य ज्यानसहितका आपराधिक घटनामा केही फरार कैदीबन्दीको संलग्नता पुष्टि भइसकेपछि यसले कारागार व्यवस्थापन प्रणालीको कमजोरी मात्र होइन, देशको आन्तरिक सुरक्षामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

गृहमन्त्रालयले आइतबार बसेको मन्त्रीस्तरीय बैठकमार्फत फरार कैदीबन्दी फिर्ता ल्याउने अभियानलाई अझ सशक्त र समन्वित बनाउने निर्णय गरेको छ।

विभागका अनुसार फरार कैदीबन्दीहरूको नामावली र विवरण गृह मन्त्रालयमार्फत निर्वाचन आयोग, सुरक्षानिकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात, राहदानी, वैदेशिक रोजगार, श्रम, नापी लगायतका प्रमुख निकायमा पठाइनेछ।

त्यसैगरी ७७ वटै जिल्ला प्रशासन कार्यालय र स्थानीय तह र अन्य सार्वजनिक निकायहरूमा पनि फरारहरूको विवरण पठाइने तयारी छ। यसले उनीहरूको पहिचान र प्रक्राउलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।