काठमाडौं । भदौ २४ गतेको आगलागी घटनापछि स्थगित रहेका सबै मुद्दा प्रक्रिया अब पुनः चल्ने भएका छन्। सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंगलबार (असोज २८ गते) बाट रिटसहित नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतमा जेनजी आन्दोलनका क्रममा आगो लगाउँदा झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। ती पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने भएकाले अदालतले नयाँ मुद्दा दर्ता गरेर काम अघि बढाउने तयारी गरेको हो।
स्रोतका अनुसार कानुन व्यवसायी र नेपाल बार एशोसिएशनलाई यस सम्बन्धी जानकारी औपचारिक रूपमा दिइँदैछ। नयाँ मुद्दा दर्ता भएसँगै सोही दिनदेखि सुनुवाइ प्रक्रिया पनि सुरु हुने सर्वोच्चले जनाएको छ।
हालसम्म अदालतले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ गर्दै आएको थियो। अब भने अदालतको नियमित सेवा क्रमशः सुचारु हुने भएको छ ।
“यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता का दफा ७३, १३७ र १५५ का निवेदनहरु असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुनेछन्। अन्य सेवाहरू पुनः सूचना जारी भएपछि सञ्चालन गरिनेछ।”सर्वोच्चको सूचनामा भनिएको छ ।
यस निर्णयसँगै देशको न्यायिक प्रक्रिया फेरि गतिशील बन्ने अपेक्षा गरिएको छ।







