काठमाडौ । अक्षरधाम प्रकाशनको आयोजनामा नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल जडिबुटीको सभाकक्षमा अछामका लेखक कण्ठराज गिरीको रसरङ्गको साैगात पुस्तक शुक्रबार लोकार्पण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरीले नेपालको इतिहासका विभिन्न कालखण्डमा कर्णाली सभ्यता, लोकसाहित्य, देउडाको सांस्कृतिक जन्ममा न्याउला प्रथाको भूमिका उल्लेख गर्दै, न्याउली चेलीको पीडादायी रोदनमा विभिन्न रस, अलंकार, बिम्ब तथा प्रतीकको प्रयोग पुस्तकमा गरिएको बताए ।
पुस्तकका सर्जक कण्ठराज गिरीले पुस्तकमा पश्चिम नेपालको प्रख्यात नाच देउडाको उत्पत्ति र पश्चिम नेपालका महिलाहरूको पीडालाई न्याउली प्रथामा आधार बनाएर अनुसन्धानात्मक रूपमा प्रस्तुत गरिएको बताए । साथै, पुस्तकमा अलिखित, संकलित तथा मौलिक शब्दको माध्यमबाट साहित्यिक गुण र स्वरुप दिन खोजिएको स्पष्ट गरे ।
सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व डिपुटी गभर्नर नरबहादुर थापाले सामाजिक कुरीति हटाउन सकारात्मक परिवर्तनका लागि सांस्कृतिक साहित्यको भूमिका महत्त्वपूर्ण हुने टिप्पणी गरे ।
अक्षरधाम प्रकाशन तथा गृह पुस्तकालय अभियान नेपाल लाइब्रेरी फाउन्डेसन नेपालका महासचिव डा. छायादत्त न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार तथा नेपाल लाइब्रेरी फाउन्डेसन सदस्य प्रवीनराज जोशी, शिवराज जैसी र खडक बहादुर बिष्टलगायतले कृति समीक्षा गरे ।
लोकार्पण भएको पुस्तक साहित्य र संस्कृतिसँग सम्बन्धित विशेष कृति रहेको छ ।







