सूचना प्रवाह सहज र पारदर्शी बनाउने ललितपुरका प्रजिअ घिमिरेको प्रतिबद्धता

ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले पदभार सम्हाल्नासाथै पत्रकारसंघ भेटघाट गरी सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउने प्रतिबद्धता प्रकट गरेका छन्।

सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भेटघाट गर्दै उनले नागरिकले पाउने सूचनालाई समयमै उपलब्ध गराइने स्पष्ट पारे।

“सार्वजनिक चासोका सूचना ढिलासुस्ती वा लुकाछिपी होइन, खुलेर दिनुपर्छ,” प्रजिअ घिमिरेले जोड दिए। उनले जिल्लाभित्रका सरकारी कार्यालय तथा प्रशासनिक निकायलाई पत्रकार वा सर्वसाधारणले मागेका सूचना सहजै उपलब्ध गराउने व्यवस्था मिलाइने बताए।

ललितपुरलाई सफा, सुरक्षित र सांस्कृतिक सहरका रूपमा अघि बढाउने संकल्प लिँदै उनले लागुऔषध दुर्ब्यसनलाई ‘सामाजिक क्यान्सर’ भन्दै यसको नियन्त्रणमा सहयोग गर्न सञ्चार जगतलाई आग्रह गरे ।

उनका अनुसार, लागुऔषध प्रयोग गर्ने युवामध्ये ७० प्रतिशतभन्दा बढी साथीभाइको संगतले फस्ने गरेको तथ्यले यो समस्या सामूहिक अभियानमार्फत मात्र नियन्त्रण गर्न सकिने देखिन्छ।

त्यस्तै, उनले चाडपर्वलाई लक्षित गरी बजारमा हुने कृत्रिम मूल्यवृद्धि, नापतौलमा हुने त्रुटि र उपभोक्तामैत्री सेवामाथि देखिन सक्ने अनियमिततामाथि कडाइ गर्ने बताए। “शान्ति–सुरक्षा कायम गर्दै बजार अनुगमनलाई प्राथमिकता दिइ कालोबजारी र अनियमितता अन्त्य गरिनेछ ।” उनले उद्घोष गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले केही कार्यालयहरूमा अझै पनि सूचना लुकाउने प्रवृत्ति रहेकोप्रति चिन्ता व्यक्त गर्दै, सबै सूचना अधिकारीहरूले आफ्ना सम्पर्क नम्बर सार्वजनिक गर्नुपर्ने सुझाव दिए।

साथै, पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन गर्ने वातावरण सुनिश्चित गर्न प्रजिअको सहयोग आवश्यक रहने उनको भनाइ छ ।

भेटमा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेका साथै जिल्लामा सक्रिय पत्रकारहरूको उपस्थिती रहेको थियो। सो अवसरमा ललितपुर जिल्लामा शान्ति सुरक्षा र सुशासनको अवस्थाबारे चर्चा गरिएको थियो । कार्यक्रममा प्रजिअ घिमिरेले आफ्ना कार्ययोजना सार्वजनिक गरेका थिए ।

गत शुक्रबार मात्र ललितपुरमा कार्यभार सम्हालेका प्रजिअ घिमिरेले पदभार ग्रहणसँगै पत्रकारहरूसँग प्रत्यक्ष संवाद गरी आफ्नो कार्ययोजना सार्वजनिक गर्नु प्रशासन र सञ्चारबीच सहकार्यलाई अझ सुदृढ बनाउने सकारात्मक संकेतको रूपमा लिइएको छ।